गाउँ सहर

मानसिक स्वास्थ्य पेशाकर्मीहरूको भेला

काठमाडौं । नेपालमा मानसिक स्वास्थ्य क्षेत्रको सुदृढ विकास, पेशागत एकता र नीतिगत सुधारका विषयमा छलफल गर्न मानसिक स्वास्थ्य पेशाकर्मीहरूको भेला सम्पन्न भएको छ। Society of Mental Health Professionals in Nepal (SOMHPIN) को आयोजनामा काठमाडाैंमा सम्पन्न उक्त कार्यक्रम ‘नेपालमा मानसिक स्वास्थ्यको भविष्य निर्माण’ (Shaping the Future of Mental Health in Nepal) भन्ने मूल नारासहित आयोजना गरिएको हो।

भेलामा देशभरबाट मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत मनोवैज्ञानिक, मनोसामाजिक परामर्शदाता, मनोचिकित्सक, सामाजिक कार्यकर्ता, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि बाल अदालतका न्यायाधीश माननीय कृष्णप्रसाद नेपाल रहेका थिए। त्यसैगरी वरिष्ठ मनोवैज्ञानिक प्रा. डा. शिशिरकुमार सुब्बा तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय मनोविज्ञान विभागका विभागीय प्रमुख सञ्जेश श्रेष्ठ लगायतले सम्बाेधन गरेका थिए।

कार्यक्रममा मानसिक स्वास्थ्य क्षेत्रका विद्यमान चुनौती, पेशागत मान्यता, सेवा विस्तार, नीतिगत सुधार र सरोकारवालाबीचको सहकार्यका विषयमा व्यापक छलफल गरिएको थियो।

वक्ताहरूले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन राज्यको प्राथमिकता, पर्याप्त जनशक्ति उत्पादन तथा नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए।

SOMHPIN का अध्यक्ष उमेश शिवाकोटी ले मानसिक स्वास्थ्य पेशाकर्मीहरूबीच एकता, सहकार्य र साझा आवाज निर्माण गर्न संस्था निरन्तर सक्रिय रहने बताए। उनले आगामी दिनमा राष्ट्रियस्तरको मानसिक स्वास्थ्य सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी पनि दिए।

त्यसैगरी, SOMHPIN का कार्यकारी सदस्य प्रणवराज रेग्मीले मानसिक स्वास्थ्यको सुदृढ भविष्य निर्माणका लागि सबै सरोकारवालाको सामूहिक प्रयास अपरिहार्य रहेको बताउँदै यो भेला त्यस दिशामा महत्वपूर्ण सुरुआत भएको उल्लेख गरे। साथै, नेपालमा मानसिक स्वास्थ्य परिषद् (Mental Health Council Nepal) स्थापनाका लागि आवश्यक नीतिगत पहललाई थप सक्रिय रूपमा अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

भेला मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत पेशाकर्मीहरूबीच अनुभव आदानप्रदान, पेशागत सञ्जाल विस्तार तथा साझा एजेन्डा निर्माणका लागि महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत