राजनीति

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री र गृहमन्त्रीसँग यति धेरै सुन

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री शाहले आफ्नो बैंक ब्याले‍न्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् ।

सार्वजनिक भएको विवरण अनुसार, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वाग्लेको सम्पत्ति : घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाख

 अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।

उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ४ करोड ३१ लाखको शेयर

गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ । उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।

विवरणका अनुसार, गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर बजारमा लगानी देखिएको हो ।

जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।

त्यस्तै, सबैभन्दा बढी लगानी ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा भएको उनले एकमुष्ट उल्लेख गरेका छन् । व्यवसायीक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरण अनुसार, ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।

एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो शेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान शेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत