अर्थतन्त्र

शेयरबजारमा पहिराे : नेप्से सय अंकभन्दा बढिले ओरालो, किन अत्तालिए लगानीकर्ता ?

काठमाडाैं । आइतबार सेयर बजार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ ।

गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको थियो ।

बजार उच्च अंकले घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३८ करोडको भयो ।

७ कम्पनीको मूल्य बढ्यो, २६१ को घट्यो । अन्य समूह सबैभन्दा धेरै ६.०९ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले गर्दा समूह बढी प्रभावित भएको हो ।

६ नयाँ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

७ कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी छन् । त्यस्तै नेपाल पुनर्बीमाको ९.६२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

किन डराए लगानीकर्ता ?

नयाँ सरकार आएपछि सेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाउने अनुमान विपरीत दिनहुँजसाे घटिरहेकाे छ । बालेन शाह सरकारले सत्ता सम्हालेपछि खुलेको पहिलो दिनमै नेप्से परिसूचक ७१ अंकले घट्यो। त्यसयता बजार खुलेको पाँच दिनमा दुई दिन नेप्सेमा समान्य सुधार भए पनि अन्य दिन उच्चले घट्यो।

नयाँ सरकारको कामकारबाही देखेर सेयर बजार डराएको केही ब्रोकरहरू बताउँछन्। सरकारले सत्ता सम्हालेको भोलिपल्टै पुराना दलका नेताहरू पक्राउ गरेपछि मुलुक राजनीतिक मुठभेडमा जान्छ कि भन्ने त्रास, दिनहुँजसाे व्यवसायीहरू पक्राउ परेपछि बजार घट्ने क्रमले झन् तीव्रता पाएको लगानीकर्ताहरूकाे भनाइ छ ।

नयाँ सरकार आएसँगै बजार २९५० विन्दुबाट घटेर आइतबारसम्म २६७६ विन्दुमा आएको छ। ब्रोकरहरूका अनुसार पनि व्यवसायीहरू पक्राउ घटनामा दुई कारणले बजारलाई असर गरेको छ। व्यवसायी दिपक भट्ट पक्राउ परेपछि उनीसँग सम्बन्ध जोडिएका व्यवसायीहरू शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, सञ्चालक छाेरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन् भने अन्य कतिपय छानबिनको दायरामा आउन सक्ने त्रास बजारमा छ। 

व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा शुक्रबार पक्राउ परेका हुन्। भट्टले नेपाल पुनर्बीमा कम्पनी लगायतको सेयर खरिद गर्दा आफ्नोबाहेक अन्य खाताबाट रकम भुक्तानी भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ। त्यस्तै उनले सेयर कारोबारका लागि आफ्नो बैंक खाता प्रयोग नगरी अन्यत्रबाट सेयर कारोबारको भुक्तानी गरेको पाइएको थियो।

भट्टले खरिद गरेको सेयर भुक्तानीको लागि हिमालयन रि इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, यसैको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रूपैयाँ प्रयोग भएको थियो। नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआई लार्ज क्याप फन्डको २५ करोड १४ लाख सहित कुल तीन अर्ब ८१ करोड रूपैयाँ भुक्तानी भएको पाइएको हो।

गाउँ सहर संवाददाता

तपाईँको मत