खेल

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोट काठमाडौंमा आजदेखि

काठमाडौं । आईसीसी ट्वान्टी–२० महिला विश्वकप ग्लोबल छनोट नेपालले अहिलेसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता बनेको छ । महिला क्रिकेटमा नेपाल पहिलो पटक ग्लोबल छनोट खेल्दै छ भने यससँगै नेपाली भूमिमा टेस्ट मान्यताप्राप्त राष्ट्रका पूर्ण टोलीहरू पहिलो पटक प्रतिस्पर्धा गर्न आएका छन् ।

गत मे महिनामा थाइल्यान्डमा सम्पन्न एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपालले ग्लोबल छनोटको यात्रा तय गरेको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश, जिम्बावे, आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, नामिबिया र अमेरिका गरी १० राष्ट्र सहभागी छन् । बंगलादेश, जिम्बावे र आयरल्यान्ड टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् ।

नेपालकी कप्तान इन्दु बर्माले प्रतियोगिता अघि आयोजित प्रि–म्याच कन्फ्रेन्समा भनिन्, “यो स्थानसम्म आइपुग्न हामीले धेरै मिहिनेत गरेका छौं । ठूला राष्ट्रसँग खेल्न पाउँदा उत्साहित छौं । नेपालले यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउनु गर्वको विषय हो, हामी मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।” प्रतियोगिताका सबै खेलमा दर्शकका लागि प्रवेश निःशुल्क गरिएको छ ।

समूह ‘बी’ मा रहेको नेपालले आइतबार थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । नेपालले २२ जनवरीमा नेदरल्यान्ड्स, २४ जनवरीमा जिम्बावे र २६ जनवरीमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । जिम्बावे पनि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

प्रतियोगिताका खेल कीर्तिपुर र माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् । नेपालका सबै खेल कीर्तिपुरमा तय भएका छन् । कीर्तिपुरमा प्रतियोगिताको पहिलो दिनको दोस्रो खेलमा नेदरल्यान्ड्स र जिम्बावे आमनेसामने हुँदैछन् ।

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सपछि शीर्ष चार टोली आगामी जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने आईसीसी ट्वान्टी–२० महिला विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगिता अघि आयरल्यान्ड र अमेरिकासँग खेलेका अभ्यास खेलले नेपाललाई चुनौतीको संकेत गरिसकेको छ । आयरल्यान्डसँग नेपाल ९९ रनले पराजित भएको थियो भने अमेरिकासँगको दोस्रो अभ्यास खेलमा ६ विकेटको हार बेहोरेको थियो । महिला टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल नवौं र अमेरिका १० औं स्थानमा छन् ।

नेपालको पहिलो प्रतिद्वन्द्वी थाइल्यान्डले सन् २०२० को ट्वान्टी–२० विश्वकप खेलिसकेको छ । नेपाल सन् २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । गत वर्ष काठमाडौंमा भएको त्रिकोणात्मक शृंखला र बैंककमा सम्पन्न एसिया छनोटको फाइनलमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत