आज लक्ष्मीपूजा, धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरिँदै
- गाउँ सहर संवाददाता
- ३ कार्तिक सोमबार, २०८२ | ०७:३२:०० मा प्रकाशित
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ ।
लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन रहेको छ ।
आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
यसै विश्वासका कारण आज घरघरमा दीपमालिकासहित दीपावली गरिन्छ ।
घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शयया बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष राधारामचन्द्र गौतमले बताए ।
आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ ।
यस दिन श्रद्धालुहरू दिनभर उपवास बसेर बेलुका दीपावली गरेर नुहाइधुवाई गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मीका रूपमा देवीको पूजा आराधना गर्छन् । स्कन्द पुराण, पद्य पुराण र विष्णु पुराणमा उल्लेख भएअनुसार यी आठ रूपहरूले जीवनका आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजयका पक्षहरूलाई प्रतिनिधित्व गर्छन् ।
धार्मिक ग्रन्थअनुसार समुद्र मन्थनको समयमा लक्ष्मीदेवी अमृत कलश हातमा लिएर प्रकट भएकी थिइन्, र त्यो दिन यही कार्तिक औँसीको रात परेकाले यसै दिनदेखि लक्ष्मीपूजाको परम्परा सुरु भएको हो । लक्ष्मी धनकी मात्र होइन, शुद्धता, सकारात्मकता र कर्मशीलताको प्रतीक समेत मानिन्छिन् । त्यसैले लक्ष्मीपूजा आत्मिक र आध्यात्मिक दुवै दृष्टिले अत्यन्त महत्त्वपूर्ण पर्व हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस