गाउँ सहर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान आजदेखि नियमित

काठमाडौँ। अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान आजदेखि नियमित भएका छन्।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार शनिबार दिउँसोदेखि रोकिएका सबै आन्तरिक उडान मौसममा सुधार आएसँगै आइतबार बिहानदेखि सुचारु भएका हुन्। उनले भने, “बिहानदेखि मौसममा सुधार आएको छ, अहिले सबै उडान तथा अवतरण नियमित रूपमा भइरहेका छन्।”

आन्तरिक उडान सुचारु भएपछि विमानस्थलमा यात्रुहरूको चाप बढेको छ। शनिबार उडान स्थगन हुँदा रोकिएका यात्रुहरू गन्तव्यतर्फ जाँदै गरेका छन्।

आज बिहान नेपालगञ्ज र भद्रपुरतर्फका उडान सम्पन्न भइसकेका छन् भने पोखरा र सुर्खेतको मौसम पनि अनुकूल भएकाले उडान सुरु भएको पाण्डेले जानकारी दिए।

यसअघि अन्तर्राष्ट्रिय उडान भने शनिबार बेलुकीदेखि नै सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत