बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ, ७ मन्त्री नयाँ
- गाउँ सहर संवाददाता
- २१ श्रावण बुधबार, २०८२ | ०७:२३:०० मा प्रकाशित

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मंगलबार अपराह्न शपथ गराएका हुन्।
मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका हुन्।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दल नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए।
बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्।
प्रदेश सरकारमा एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र बिन्दु श्रेष्ठ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री भएका हुन् । कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।
कांग्रेसको भागमा ७ मन्त्रालय रहेकामा ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् । नवनियुक्त मन्त्रीमध्ये एमालेका किरण थापाबाहेक सबै नयाँ हुन् ।
थापा यसअघि पनि स्वास्थ्यमन्त्री नै थिए । कांग्रेस प्रदेश सभापतिसमेत रहेका बानियाँ बागमतीका छैटौं मुख्यमन्त्री हुन् । यसअघि यहाँ डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् ।
कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसअघि संसदीय दलका नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । गत बुधबार भएको निर्वाचनमा बानियाँका पक्षमा २२ मत र लामाका पक्षमा १४ मत परेको थियो । उनीहरूबीच १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला बानियाँलाई १६ सांसदको समर्थन रहेको थियो भने लामाका पक्षमा २१ मत परेको थियो । बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।
लामाको राजीनामापछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस