दृष्‍टिकोण

राजावादीको अराजकता : मुलुकको शान्ति र स्थिरता माथि खतरा

नेपालमा हालको राजावादी आन्दोलनले एउटा नयाँ र भयावह रूप लिएको छ। राजतन्त्रको पुनर्स्थापनाको नाममा राजधानी काठमाडौंका सडकहरूमा हिंसा, आगजनी, लुटपाट, पत्रकार र सुरक्षाकर्मीमाथि आक्रमण भइरहेको छ। यस्ता घटनाहरूले देशलाई थप अस्थिरतामा डुबाउने खतरा उत्पन्न गरेको छ। आजको परिप्रेक्ष्यमा, यी आन्दोलनकारीहरू संवैधानिक राजतन्त्रको पुनर्स्थापनाको नाममा जुन प्रकारको अराजकता मच्चाइरहेका छन्, त्यसले ‘राजनीतिक आन्दोलन’ भन्दा ‘अराजक माफियाहरूको लुटतन्त्र’ जस्तो स्वरूप लिइसकेको छ।

एभिन्युजका पत्रकारलाई जिउदै घरमा आगो लगाएर हत्या गरिएको घटनाले यो आन्दोलनको वास्तविक उद्देश्यलाई स्पष्ट पार्दछ। यदि राजावादीहरू सही छन् भने, प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा किन उल्लंघन गरिरहेका छन्? आन्दोलनको नाममा कान्तिपुर अन्नपूर्ण लगायतका मिडिया हाउसहरूमा तोडफोड, पत्रकारलाई धम्की दिने र सत्यलाई लुकाउने प्रयास गर्नु के साँचो उद्देश्य हो? यो घटनाले देखाउँछ कि यिनीहरूको आन्दोलन शान्तिपूर्ण प्रदर्शनको नाममा तर्साउने र दमन गर्ने रणनीतिमा आधारित छ। यसले ‘संविधान र लोकतन्त्रको रक्षा गर्ने’ भन्दा बढी ‘दमन र भय फैलाउने’ योजनालाई साकार गरेको छ।

कथित आन्दोलनकारी भनिने अराजकहरुले जलाईएको घरमा आगो निभाउन गएको दमकल मात्र तोडफोड नगरिएको भए एभिन्युजका पत्रकार बाँच्थे! यो त राजावादीहरुले गरेको हत्या हो। जिम्मा दुर्गा, मिश्र र ज्ञानेन्द्र शाहले लिन पर्छ! पत्रकारिता गर्ने भुसण दाहाल, युवराज घिमेरे, टिकाराम यात्रीहरू पनि नैतिक जिम्मेवार हुन। जसले पत्रकारीताको नाममा जनतालाई भडकाइरहेका छन्। यी र यस्ता पात्रबाट जोगिनुपर्छ। तन्त्र होइन, पात्र परिवर्तन नै आजको आवश्यकता हो। गणतन्त्र भन्दा उत्तम व्यवस्था संसारमा छैन।

यस आन्दोलनको नेतृत्वमा रहेका दुर्गा प्रसाईंजस्ता व्यक्तिहरूले जनताको मर्म बुझेर राजतन्त्रको पुनर्स्थापनाको लागि संघर्ष गरिरहेका छैनन्। यी व्यक्तिहरू आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्न राजतन्त्रको नाममा आन्दोलन चलाउँदै छन्। दुर्गा प्रसाईं अरबै रुपैया बैङ्कबाट लिएर त्यसको ब्याज तिर्न नसकेर सोझा जन्तालाइ उरालीरहेका छन्। यस्ता मान्छेलाइ सरकारले कानुनी कटघरामा ल्याएर हदैसम्मको कारबाही गर्नैपर्छ। प्रसाईं भ्रष्टाचारी र अनैतिक मानिसहरूको अगुवाइमा आन्दोलनले जनताको हक र अधिकारको रक्षा गर्न सक्दैन।

विवेकहीन लुटपाट, आगजनी र नागरिकमाथि आक्रमण गर्नु भनेको राजतन्त्रको स्थापनाको उद्देश्य होइन। भाटभटेनी जस्ता व्यापारी केन्द्रहरूमा तोडफोड, निर्दोष नागरिकका घरहरू जलाउनु, र पसलहरू लुट्नु भनेको मुलुकलाई अराजकता र द्वन्द्वतर्फ धकेल्नु हो। के यही ‘संवैधानिक राजतन्त्र’ फर्काउने उपाय हो? यसले राजतन्त्रको विचारलाई हीन र बदनाम बनाइरहेको छ र यसको स्थानमा संगठित अपराधको स्वरूप लिइरहेको छ।

राज्यका सुरक्षाकर्मीमाथि आक्रमण गर्नु, उनीहरूको गाडी जलाउनु र हातहतियार खोस्ने प्रयास गर्नु भनेको राज्यको कानूनी संरचनालाई नष्ट गर्नको उद्देश्य हो। यसले कुनै पनि लोकतान्त्रिक आन्दोलनको विशेषता होइन, बरु सशस्त्र विद्रोहको रूप लिन्छ।

सरकारको मूकदर्शक भूमिका गम्भीर प्रश्न उठाउँछ। तीनकुने, कोटेश्वर, सिनामंगल क्षेत्रमा तीन-चार घण्टासम्म हिंसा मच्चिरहेको बेला सुरक्षा संयन्त्रहरू निष्क्रिय थिए। के सरकारले यो घटनालाई आफ्नो राजनीतिक स्वार्थ अनुसार उपयोग गर्दैछ? यदि सरकार सचमुच जनताको पक्षमा उभिन चाहन्छ भने, हिंसा रोक्न र दोषीलाई कारबाही गर्न कडा कदम चाल्नुपर्ने हो।

यदि राजतन्त्र फर्काउनु थियो भने, यसका लागि संवैधानिक प्रक्रिया अपनाउनु आवश्यक छ। हिंसा, लुटपाट, आगजनीका माध्यमले कुनै पनि व्यवस्था फर्किँदैन। यस्ता कार्यहरूले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने छन्। जनतालाई सचेत गराएर यस्तो अराजक आन्दोलनलाई अस्वीकार गर्नुपर्ने हो।

आजको घटनाले यो प्रमाणित गरेको छ कि यो आन्दोलन राजतन्त्र फर्काउने होइन, बरु लोकतन्त्रको ध्वस्त पार्ने षड्यन्त्र हो। जसको नेतृत्वमा हिंसा र आतंक फैलाउने गटहरूले जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्। यस्ता गतिविधिहरूले जनताको विश्वासलाई मात्रै गुमाउँछन्, देशलाई झन् अराजकता र द्वन्द्वतर्फ धकेल्छन्। राजतन्त्रको पुनःस्थापना केवल जनताको शान्तिपूर्ण र संविधानअनुसारको संघर्षबाट मात्र सम्भव छ, न कि हिंसा र आतंकबाट।

राजनीतिक आन्दोलन र जनताको वास्तविक मर्मका बीचको भेदलाई बुझ्न आवश्यक छ। जनताको हक र अधिकारको रक्षा मात्र सशक्त, शान्तिपूर्ण र जिम्मेवार राजनीतिक प्रक्रियाबाट सम्भव छ, न कि हिंसात्मक क्रियाकलापहरूले। दमन र आतंकबाट देशको भविष्य निश्चितत: शान्ति र समृद्धिको दिशामा जान सक्दैन। हामीलाई त्यसको अस्वीकार गर्नु पर्ने छ र संविधान र लोकतन्त्रको रक्षामा एकजुट हुनु पर्छ।

तपाईँको मत