दृष्‍टिकोण

विदेशी बाबुको छोरालाई चिठी- ‘भाग्यमा होइन, आफ्नो कर्ममा भर पर्नु’

प्यारो छोरा एरीक 

शुभ आशीर्वाद ।

खासै लेख्नुपर्ने नयाँ खबर त केहि पनि थिएन र पनि कलिलो उमेरमा तिमीलाई छाडेर रोजगारीको लागि विदेश जाँदा भोलिका दिनमा कम्तीमा लेखेको बुझ्ने पढने र मनन गर्ने भएपछि विदेश किन बाबा-आमा हामीलाई छाडेर जानुभयो भनेर तिमीले गर्ने प्रश्नहरूको उत्तर केही हदसम्म भएपनि समाधान होस भनेर अहिले नै एउटा पत्र कोर्दैछु छोरा !

बाबु माटो खान्छु माटो पिउँछु माटो हाँस्छु माटो रुन्छु भन्ने देशभक्ति गीत सुनेर हुर्केको तिम्रो बाबा हुँ म कुनै दिन । खान नपाए यहि देशको माटो खान्छु तर विदेश जान्न भनेर फेसबुकमा लेख्ने गर्दथेँ तर निकै ठक्कर खाएपछि अहिले मेरो चेत आयो माटो सुँघेर-खाएर-पिएर-हाँसेर मात्रै पेट भरिन्न रहेछ मेरो छोरा !

तिम्रो बाबुलाई तेस्रो दर्जाको नागरिक बनेर आधुनिक दास बन्न अनि रातैभरी अँगालोमा च्यापेर सुत्ने तिमीलाई चटक्क छोडन मन थियो होला र ?  कस्सम ! हुँदैहोइन मलाई बुझ, संघर्ष गर्दागर्दै थकित बनेर बाध्यता, जरुरत, सम्झौता अनि परिस्थितिलाई सामना गर्न सकिन र त विदेशीँदैछु । तिम्रै सुखको खोजिको लागि हो, अधुरा सपनाहरुको भुमरीमा फसियो । ती सपनाहरु केही हदसम्म भएनि साकार पार्नुछ ! हेर बाबु मानिस परिस्थितिको दास हो, तिमीले पनि एक दिन बुझ्नेछौ बाध्यता, अभाव सबैभन्दा ठूलो शिक्षा हो । रहरले सपना देखाउन सिकाउँछ'" अनि अभावले संघर्ष गर्न ।

छोरा तिमीले कलिलो उमेरमा रोजगारीको लागि यो देश छोडन नपरोस विदेश भासिनु नपरोस भनेर म आफैँले देश छोडन लागेको हो केही वर्ष बसेर अवश्य फर्कनेछु यो देशमा भविष्य छ । आउँदा दिनहरूमा यो बस्न लायक देश हुनेछ ।

जब तिमी बुझ्दै जानेछौ बुझ्नेछौ शिक्षा र संस्कार, माया-ममता भन्ने विषय विश्वविद्यालयमा पढाइदिने होइन घरमै पढाउने विषय हुन् । त्यो संस्कार र मायाममता हामी नभएर के भो त तिमीलाइ हजुरामा र हजुरबुबाले दिनेछन, दिइरहनु भएकै छ बाबु ! मेरो मुटुको टुक्रा मेरो छोरा केही समयसम्म हामी काठमाडौं कपुरधारामा डेरा गरी बस्थ्यौँ  एउटा कोठामा निकै सास्तीसंग हुर्कुनुभएको हो तिम्रो दिदी आशिका । तिमी पनि ८ महिनासम्म त्यहि बस्यौ । आज हाम्रो काठमाडौंमा घर छ चार ओटा कोठामा तिमी बामे सर्दै कुददै हिँडन थालेका हौ । त्यहि तिम्रो सबैभन्दा पहिला बाबा भन्ने तोतेबोली फुरेको हो । घरको लिभिङ रुममा सिसि क्यामेरा राखेको छु कामबाट फुर्सद हुनसाथ तिमी के गरीराखेका छौ भनेर मेरो आँखा त्यही क्यामेरामा दौडिहाल्छ, म हेरिरहन्छु । हामी साथ छैनौ त्यो पक्का हो तर तिमी र तिम्रो दिदी आशिका जो अहिले चिठी लेख्दैगर्दा ९ वर्ष लागिन्र । हाम्रो माया-ममतामा तिमीहरूप्रति कहिँकतै कमी छँदैछैन ।

बाबु छोरा यो चिठी लेख्दै गर्दा आज तिमी १७ महिनाको भयौ । तिमी जन्मेको ८ महिनामा तिम्रो आमा पनि विदेशीनुभएको हो । आमा विदेशीएको त्यो दिन साँझको ६ बजे तिमी झलुङ्गोमा सुतिरहेका थियौ । तिम्री आमा निकै हिम्मतवाली र साहसी छ्न् । काखको दुधे छोरा आफ्नो मुटुको टुक्रालाई छाडेर विदेशीन सामान्य हिम्मत र साहसले सक्दैसक्दैन ! सपनाको यो शहरमा तोडिएका सपना जोडनुछ । अभावका घाउहरुमा मल्हम लगाउनुछ । कम्तिमा दुइ छाक खान र बिरामी हुँदा कसैसंग भिक माग्नु नपरोस तिमीहरुलाई उच्च शिक्षा सम्म राम्रोसंग पढाउन पाइयोस् । दुनियाँको सामु निरीह भएर हैन आत्मविश्वास लिएर बाँच्ने अवस्था सिर्जना होस बस्ः यसैको लागि हो बाबु हामी विदेशीएकाे ।

र अन्त्यमा, निराशा र असफलताले दु:ख निम्त्याउँछन् र पनि यि दुबै जीवनका पाटाहरु हुन भन्ने बुझ्नु दु:ख पर्यो वा असफल भैयो भनेर भोलिको सुन्दर बिहानीको आशा भुल्न सकिन्न, उज्यालो दिन अवश्य आउने छ । सधैँ आफैमा विश्वास गर्ने गर्नु कहिल्यै पनि आफ्नो कामको लागि अरूको आशमा बस्ने काम गर्दै नगर्नु । भाग्यमा होइन, आफ्नो कर्ममा भर पर्नु ।

आशीर्वाद छ छोरा !

उहि तिम्रो भाग्यमानी बाबा

हाल जापान टोकियो ।

तपाईँको मत