नेपाली समाजको देखावटी सम्पन्नता र यथार्थ श्रमको सम्मान
- सन्ताेष सिम्खडा
- २७ फाल्गुण मंगलबार, २०८१ | १५:०२:०० मा प्रकाशित

टोकियोको सिनामुरा बजारमा सस्तो सेल लागेको थाहा पाएर गएँ। तीन सय येनका दुईवटा टिसर्ट किनें। केही महिना अगाडि रिसाइकल पसलबाट २५ सय येनमा जाडोको जाकेट पनि लिएको थिएँ। जापानजस्तो महँगो देशमा खर्च व्यवस्थापन गर्न सिक्नैपर्छ। यहाँ महँगो सामान किनेर देखावटी जीवन जिउन सकिंदैन। अधिकांश नेपाली यस्तै गर्छन्— सस्तोमा किन्छन्, रिसाइकल पसल धाउँछन्, र पैसाको सही व्यवस्थापन गर्छन्। तर बाहिरबाट हेर्दा यस्तो देखिंदैन। हातमा आइफोन बोकेर घुमिरहेका नेपाली देख्दा लाग्छ— "वाह, कस्तो राम्ररी बसेका!" तर वास्तविकता फरक छ।
मैले जापान आएपछि रेस्टुरेन्टमा भाँडा माझ्ने काम गरें। सुरुमा यो काम गर्दा लाज लाग्थ्यो। नेपालमा पढेलेखेकाहरूले यस्ता काम गर्दैनन् भन्ने सोच थियो। तर जब यहाँको वास्तविकता बुझ्दै गएँ, तब थाहा पाएँ— काम कुनै सानो-ठूलो हुँदैन। पसिना बगाएर इमान्दारीपूर्वक कमाइएको पैसा नै असली सम्पत्ति हो। मेहनत नगरी जीवन चल्दैन। भाँडा माझ्ने कामले मलाई धेरै कुरा सिकायो— श्रमको सम्मान गर्न, पैसा जोगाउन, अनि देखावटी जीवनशैलीको मोहमा नपर्न।
नेपालमा पैसा खर्च गर्नु नै सफलता हो भन्ने सोच हाबी छ। जसले महँगो ब्रान्डेड कपडा लगाउँछ, समाज उसलाई सम्पन्न देख्छ। जसले सस्तो पसलबाट किन्छ, उसलाई "गरिब" भन्छ। तर सस्तोमा किन्ने बानी बुद्धिमानी खर्च व्यवस्थापनको संकेत हो, गरिबीको होइन। समाजले श्रमलाई हेर्ने दृष्टिकोण पनि त्यस्तै छ। जापानमा पसिना बगाउने नेपालीलाई समाजले "कम स्तरको काम गर्ने" भनेर हेप्छ। तर पैसा कमाउनु जत्तिकै महत्त्वपूर्ण छ— त्यो पैसा कसरी खर्च गरिन्छ भन्ने कुरा।
गलाभरी सुन लगाएर हिँड्दा आफूलाई ठूलो सम्झनेहरू, समुद्रका किनारमा बसेर फोटो पोज दिँदै भाग्यमानी महशुस गर्नेहरू, अनि टिकटकमा दिनदिनै फरक कपडा लगाएर फेसन देखाउनेहरू के साँच्चै सम्पन्न छन्? बाहिरबाट हेर्दा तिनीहरू 'सफल' देखिए पनि भित्रभित्रै ऋणमा डुबेका छैनन्? समाजले यस्ता देखावटी सम्पन्नतालाई प्राथमिकता दिँदा आज नेपाल वृद्धाश्रम बन्दै गएको छ। बुढा बाबुआमा नातिनातिनाको हल्ला सुन्ने रहरमा आश्रमको चिसो ओछ्यानमा रात काट्न बाध्य छन्। उता छोराछोरी टिकटकमा आधुनिकता प्रदर्शन गर्दै, समाजमा आफूलाई सफल देखाउन फेसनमा मग्न छन्।
रिसाइकल पसलबाट किनमेल गर्नु भनेको पैसा बचाउनु मात्र होइन, वातावरण जोगाउनु पनि हो। आज फास्ट फेसनले संसारभर फोहोरको संकट निम्त्याएको छ। तर नेपालमा, सेकेन्ड हेन्ड सामान किन्ने कुरा अझै पनि गरिबीको संकेत मानिन्छ। विकसित देशहरूमा भने यो सचेत उपभोक्तावादको हिस्सा बनेको छ। जापानमा ठूला ब्रान्डहरू नै रिसाइकल गरिएका सामग्रीबाट नयाँ उत्पादन गर्छन्। तर हामी भने देखावटी जीवनशैली अपनाउनमै व्यस्त छौं।
हाम्रो समाजमा महँगो सामान देखाएर प्रतिष्ठा कमाउने प्रवृत्ति गहिरो छ। महँगो घडी, ब्रान्डेड कपडा, नयाँ मोडलको फोन— यी सबै सम्पन्नताको सूचक बनिसकेका छन्। तर के आत्मसम्मान यी चीजमा मात्र निर्भर हुन्छ? जापानमा नेपालीहरूले भाँडा माझ्छन्, कारखानामा काम गर्छन्, पसिना बगाउँछन्। यो श्रमले उनीहरूलाई आत्मनिर्भर बनाएको छ। तर नेपालमा फर्किंदा समाजले सोध्छ— "यत्रो देश गएर पनि यस्तो काम?"
नेपालका धेरै युवाहरू विदेश गएर पैसा कमाउँछन्, तर घर फर्किंदा समाजले उनीहरूलाई "राम्रो लुगा लगाउने, महँगो सामान किन्ने" अपेक्षा गर्छ। पैसा देखाउन नसक्नेहरूलाई समाजले सफल मान्दैन। तर वास्तविकता के हो? पैसा देखाउनेहरू ऋणमा डुबिरहेका हुन्छन्। आफ्नो आम्दानीलाई बुद्धिमानी तरिकाले खर्च गर्नेहरू भने सुरक्षित भविष्य बनाइरहेका हुन्छन्। समाजले अब बुझ्नुपर्छ— पैसा खर्च गर्नु सफलता होइन, बुद्धिमानी खर्च गर्नु नै असली सफलता हो। महँगो कपडा, गहना, फोनले मानिसको मूल्य बढाउँदैन, उसको मेहनत र सोचले मात्र बढाउँछ। सेकेन्ड हेन्ड पसल धाउनेहरू लोभी होइनन्, उनीहरू आफ्नो आयलाई बुद्धिमानी रूपमा प्रयोग गर्ने सचेत नागरिक हुन्।
विदेशमा पसिना बगाउने नेपालीहरू आफ्ना परिवारका लागि पैसा कमाउँछन्। तर नेपालमा रहेका परिवारले सोचिदिन्छन्— "बाहिर बसेको छ, थुप्रै पैसा कमाएको छ।" वास्तविकता के हो भने, जापानमा पैसा कमाउन जति गाह्रो छ, त्यसलाई बचत गर्न अझ गाह्रो छ। धेरैजसो नेपाली युवाहरू ऋण तिर्न, कोठा भाडा बुझाउन, अनि खानपिनमै आफ्नो कमाइ सकाइरहेका हुन्छन्। नेपालमा बसेर सोच्नेहरूलाई लाग्छ— "विदेशमा छ, पक्कै सम्पन्न छ।" तर वास्तविकता अर्कै छ। परिवारसँग समय बिताउन नपाउनु, एक्लोपन, अनि देखावटी सम्पन्नताको बोझ बोक्नु सबैभन्दा ठूलो अभिशाप बनेको छ।
नेपालका युवाहरू महँगो गाडी, महँगो फोन, ब्रान्डेड कपडालाई सफलता ठान्छन्। उता, वृद्ध बाबुआमा भने छोराछोरीको फोन कुर्दै, आफ्नै सन्तानले बनाएको वृद्धाश्रममा बस्न बाध्य छन्। के यही हो सफलताको परिभाषा? के विदेशमा संघर्ष गरेर फर्किएका छोराछोरीले आफ्ना आमाबाबुलाई बिर्सिनु नै महानता हो? के सामाजिक सञ्जालमा रमाउनेहरूलाई वास्तविकता थाहा छ?
हाम्रो समाजले सफलता के हो भन्ने परिभाषा फेर्नुपर्छ। सफलता पैसा देखाउने कुरा होइन, सही ठाउँमा खर्च गर्ने कला हो। संसारलाई देखाउन महँगो सामान किन्नु मूर्खता हो, आफूलाई सुरक्षित भविष्य दिनु बुद्धिमानी हो। श्रम नगरी पैसा देखाउनेहरू भन्दा, मेहनत गरेर इमानदार कमाइ गर्नेहरू वास्तविक सम्पन्नता भएका हुन्।
हामीले समाजलाई यो सन्देश दिनुपर्छ— पैसा कमाउनु ठूलो कुरा होइन, त्यसलाई सही ठाउँमा प्रयोग गर्न सक्नु ठूलो कुरा हो। हातमा आइफोन बोकेर भित्रभित्रै ऋणको भारी बोक्नेहरू भन्दा, सेकेन्ड हेन्ड पसलबाट कपडा किनेर बचत गर्नेहरू असली सफल हुन्छन्। देखावटी जीवनशैलीको सस्तो मोहमा परेर आफ्नो वास्तविकता भुल्नु भन्दा, मेहनत, बचत र इमानदारीलाई प्राथमिकता दिनु नै असली सम्पन्नता हो। आखिर, हाम्रो मूल्य हाम्रा सामानले होइन, हाम्रा कर्मले निर्धारण गर्छ।
सिम्खडा हाल टोकियो जापानमा छन् ।
प्रतिकृया दिनुहोस