गणतन्त्रवादी र राजावादीहरूले प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा
- गाउँ सहर संवाददाता
- १५ चैत शुक्रबार, २०८१ | ०८:१८:०० मा प्रकाशित

काठमाडौं । आज संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दलहरु र राजावादी समर्थकहरुले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्दै छ ।
पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन् । यो गणतन्त्रवादीहरूका लागि ‘सह्य’ विषय छैन । त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् ।
तर, गणतन्त्रवादीहरूलाई राजावादीहरूले गणतन्त्रको विपक्षमा प्रदर्शन गरेर ‘काउन्टर’ दिन लागेका छन् । यस प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा केही राजा र हिन्दूवादी सङ्घसंस्थाहरूले पनि समर्थन जनाएका छन् ।
राजावादीहरूले स्वयं पूर्वराजा शाहलाई नै सहभागी गराउने प्रयत्न गरेका छन् । त्यसकै लागि राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, समितिको जनकमान्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजालाई भेटिसकेका छन् । उनीहरूले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दै छन् ।
गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन र आमसभा गर्दै छन् । त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दै छन् ।
यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् ।
यता जिल्ला सुरक्षा समितिले सुरक्षार्थ योजना बनाइसकेको छ । समितिले गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई नदिने विशेष रणनीति अपनाएको छ । त्यसैले एउटालाई तीनकुने र अर्कोलाई भृकुटीमण्डप स्थान तोकिएको समितिले जनाएको छ । प्रदर्शन एकै दिन हुने हुँदा मुडभेठ हुन सक्ने भन्दै सुरक्षा समितिले विशेष रूपमा रणनीति बनाएको हो ।
आजका यी प्रदर्शनले काठमाडौँको ट्राफिक अवस्थालाई अस्तव्यस्त पार्ने अनुमान गरिएको छ । कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन् । अत्यावश्यक काम बाहक अन्य कामको लागि धेरै बाहिर नजान पनि प्रशासनले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस