विश्व बैंकले भन्यो- गरिबी न्यूनीकरणमा नेपालको उल्लेखनीय सफलता
- ११ चैत सोमबार, २०८१ | १४:१२:०० मा प्रकाशित

काठमाडौं । नेपालको गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको तथ्य सार्वजनिक गरिएको छ। यसमा विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहेको प्रतिवेदन सोमबार विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
‘नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। यसमा मूलतः विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका छ’, विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य : नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर’ प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकले भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरलाई खुला गर्ने नीतिगत कदमहरूलाई प्राथमिकता दिन सुझाव दिएको छ।
विश्व बैंकले नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि रहेको उल्लेख छ। ‘सन् १९९६ देखि सन् २०२३ को अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भयो, जुन दक्षिण एसियाका आठ राष्ट्रमध्ये छैटौँ स्थानमा पर्दछ’, प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकका अनुसार निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्वजस्ता संरचनागत चुनौतीले नेपालको अर्थतन्त्र पछाडि धकेलिएको हो। गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएकाले आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको प्रतिवेदनमा उल्लेख छ।
‘गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय छ तर मुलुकको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन’, नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, ‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युत्को कुशलतापूर्ण उपयोग गर्ने र डिजिटलीकरणलाई प्रवर्द्धन गर्नेजस्ता सुधारमार्फत बलियो आर्थिक वृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छ।’
प्रतिकृया दिनुहोस