चन्द्रागिरि नगरपालिकाले शुरू गर्यो नागरिकताको अनलाइन सिफारिस
- गाउँ सहर संवाददाता
- १५ माघ मंगलबार, २०८१ | ०८:२३:०० मा प्रकाशित
काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस शुरूआत गरेको छ । काठमाडौं उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट अनलाइन सेवाको थालनी गरेको हो ।
यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो ।
नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सेवाको सोमबार थालनी गरेका हुन् । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस शुरूआत गरिसकेका छन् ।
मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सेवा शुरू गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । अनलाइन सेवाबाट अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो, किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरूप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ ।
कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिनुहुँदै विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउँदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत् प्रदान गरिँदै लगिने बताए। नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिमैत्री बन्नुपर्ने बताइन् ।
सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंका मुक्तिराम रिजालले काठमाडौं उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा शुरू गरेकामा नगरपालिकालाई धन्यवाद दिँदै यो सेवा काठमाडौंका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए ।
गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एन्फा महिला लिगमा अपराजित रहँदै च्याम्पियन बन्यो एपिएफ
- विभिन्न कार्यक्रम गर्दै सहीद दिवस मनाइँदै
- डिष्ट्रिक्ट ३२५ 'जे' नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने
- अब ट्राेल बनाए, फेक आईडी वा पेजबाट भ्रामक सूचना सम्प्रेषण गरे यस्ताे सजाय
- प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गत १५ दिनकाे कार्यतालिका सार्वजनिक
- किन पुगे रवि लामिछाने उच्च अदालत पाेखरा ?
- शेयरबजार : निरन्तर खुसुखुसु ओरालाे झर्दै नेप्से
- पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
- १ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने
- त्रिदेशीय महिला क्रिकेट शृंखलाका लागि नेपाली टिमको घोषणा
प्रतिकृया दिनुहोस