अख्तियारका प्रतिनिधिलाई नै घूस दिने अधिकृतविरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २५ पौष बिहीबार, २०८१ | १६:३७:०० मा प्रकाशित
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई नै एक लाख रूपैयाँ घूस दिन खोज्दा पक्राउ परेका एक पालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत) ध्रुव प्रसाद सापकोटाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरीउपर आयोगको कार्यालय, कञ्चनपुरबाट विस्तृत अनुसन्धान भइरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न भनी आयोगको कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिन खोजेपछि उनी केही समय पहिले आयोगको कार्यालयबाटै पक्राउ परेका थिए ।
उनले अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम दिँदा अनुसन्धान अधिकृतले ‘आफैंले खोलेर दिनु’ भन्दा सापकोटाले बोकेको हरियो रङको झोलाभित्र रहेको पहेंलो खाममा एक लाख रूपैँया रहेकोमा ‘यो के को पैसा हो?’ भनी सोधपुछ गर्दा ‘मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो’ भनेका थिए ।
अनुसन्धानलाई प्रभावमा पार्न, खरिद कार्यमा भए/गरेका भ्रष्टाचारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुङ्ग्याउन अनुसन्धान अधिकृतलाई मोलाहिजा गर्न तथा अनुसन्धानलाई अनिष्ट गर्ने/गराउने प्रयोजनका घूस दिन खोजेको भन्दै मुद्दा दायर गरिएको हो ।
‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी बिगो सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ’, आयोगका प्रवक्ता नरहरि घिमिरेले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस