खेल

महिला यु-१९ टि-ट्वान्टी विश्व कपको एसिया छनोटमा खेलमा नेपालद्वारा थाइल्याण्ड पराजित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालको कसिलो बलिङ जारी रहदा थाइल्याण्ड पराजित भएको छ ।

आइतवार युएईको अजमानमा नेपालले थाइल्याण्डलाई ३३ रनमै अल आउट गर्दै खेल फराकिलो अन्तरले जितेको हो । चौथो खेलमा तेस्रो जित निकाल्नेक्रममा नेपालले थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रन जोड्दै अल आउट भयो । नेपालको उत्कृष्ट बलिङको कारण थाइल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्याण्डका ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन् । नेपालका लागि कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिईन् ।

त्यसअघि युएईको अजमानमा रहेको सेभेन्स क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेकोमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ४६ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ५३ रन जोडिन् । सानाले नेपालका लागि प्रतियोगितामा पहिलो अर्धशतक बनाईन् ।

अर्का ओपनर सावित्री धामीले २६ बलमा २८, सोनी पाख्रिनले १० बलमा १९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत