गाउँ सहर

काठमाडाैंबाहिरबाट थप विस्तार हुन थाले अन्तर्राष्ट्रिय उडान

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) विस्तारको काम चलिरहेको छ । अरू बेला २१ घन्टा दैनिक चल्ने विमानस्थल १४ घन्टामात्रै चालु छ । ट्याक्सी–वे विस्तारको काम हुँदा विमानस्थलमा उडान र अवतरणको समय घट्यो । भलै त्रिभुवन विमास्थलको सेवा अवधि घटेकै हुनाले किन नहोस्, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोझिन थालेका छन् ।

मंगलबार कतार एयरवेयजले पनि भैरहवाबाट उडान थाल्यो । फ्लाई दुबई, जजिरा एयरवेज र थाई एयरवेजले भैरहवाबाट उडान थालिसकेकै थिए । सँगसँगै स्वदेशी राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स पनि छँदैछ । यसले गर्दा अर्बाैं रूपैयाँमा निर्माण भएर पनि अन्तर्राष्ट्रिय उडान हुन नपाएको भैरहवालाई ठूलो राहत भएको छ । भलै पोखरामा भने २२ अर्ब लगानीको अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय वायुसेवा गएका छैनन् ।

कात्तिक २३ देखि चैत १८ गतेसम्म त्रिअविमा मर्मत तथा विस्तारको काम हुने भएपछि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखराको विकल्प दिएको थियो । केही छुट सुविधाका आकर्षण पनि थए । चार एयरलाइन्सको उडान भैरहवाबाट हुँदा पनि त्रिअविको भार कम भएको छ । साथसाथै नेपालसँग अन्तर्राष्ट्रिय हवाई सम्बन्ध–विच्छेद हुनबाट पनि रोकिएको छ ।

राजधानी काठमाडौंको मात्रै विमानस्थलमा केन्द्रित नभई विमानस्थलको पनि वास्तवमा विकेन्द्रीकरण भएको छ । पोखरामा समेत वायुसेवा कम्पनीहरूलाई लैजान सकेको भए झन् सुनमा सुगन्ध हुने थियो । अझै बेला बितेको छैन । सरकारले कूटनीतिक पहलकै माध्यमबाट भए पनि त्यो प्रयास गर्न सक्छ । कम्तीमा भैरहवाको विमानस्थलमा उडान हुँदा राज्यले गरेको लगानीको सदुपयोग हुन पाएको छ ।

विदेश जाने नेपाली र नेपाल आउनेहरूका लागि पनि विमानस्थलको विकेन्द्रीकरणले लाभ नै दिएको छ । भलै केही उडान भने कटौती भएकै छन् । त्यसको सोझो असर स्वरूप यात्रुहरूलाई हवाई भाडा महँगो पर्न गएको छ । संकटको बेला यस्तो हुन गएको छ । उड्नै नपाउनुभन्दा महँगोमा भए पनि सुविधा पाउनु त ठिकै हो, तर राज्यले चाहिँ हवाई भाडा कम गर्ने प्रयासको पहल गर्ने कर्तव्यबाट बिमुख हुनु हुँदैन ।

र, भैरहवामा अहिले भएकाभन्दा धेरै वायुसेवा कम्पनीलाई उडानका लागि प्रयास गरेर पनि हवाई यात्रा र भाडा सहज तथा सुलभ बनाउनुपर्छ । आखिर कुनै वायुसेवामात्रै भैरहवा जान किन मानेनन्, भन्ने पनि खोजी गर्नुपर्छ । गएकाहरूको उदाहरण उनीहरूलाई प्रेरणा हुन सक्छ । र, पोखरामा पनि उडानका लागि सरकारले अरू तयारी गरेकै छ भने त्यता पनि प्रेरित गर्न किन कन्जुस्याइँ गर्ने ? अध्यागमन, भन्सार र सुरक्षा लगायत पूर्वाधार त भैरहवामा जस्तै पोखरामा पनि छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत