विद्युत

भारतकाे बिहारमा निर्यात हुन थाल्याे ४० मेगावाट बिजुली

काठमाडौं । भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणले जनाएकाे छ ।

कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरिएकाे हाे । १४.४ मेगावाट क्षमताको मोदी, १४.४५३ मेगावाटको मायाखोला र ११.६४ मेगावाटको दूधकुण्ड आयोजनाको बिजुली निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ । मध्यकालीन सम्झौताबमोजिम पीटीसी, भारतमार्फत बिहार राज्यमा बिजुली निर्यात गरिरहेको प्राधिकरणले बताएको छ ।

यही भदौ ३ मा भारतीय दूतावासले द्विपक्षीय सम्झौताबमोजिम नेपालले भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको जनाएको थियो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौताबमोजिम हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट निर्यात गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

उल्लिखित तीन आयोजनासहित ११.६४ मेगावाटको दोर्दी– १, ९.९९१ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.६ मेगावाटको गण्डक, १९.२१ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारमा निर्यात गर्ने स्वीकृति पाएको छ ।

प्राधिकरणले हरियाणा राज्यका वितरण कम्पनीलाई दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।

प्राधिकरणले आन्तरिक खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गर्नेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ । प्राधिकरणका अनुसार ९ सय ४१ मेगावाट बिजुली निर्यात स्वीकृति पाएकोमा थप १० प्रतिशत बढी बिक्री गर्न मिल्नेछ । अहिले प्रतिदिन करिब ८ सय मेगावाट बिजुली निर्यात भइरहेको प्राधिकरणको भनाइ छ । ‘मध्यकालीन सम्झौताअनुसार हामीले तलमाथि गर्न सक्दैनौं । बिहारमा बल्ल ४० मेगावाट बिजुली पठाउन सुरु भएको छ, अरु बिस्तारै जानेछ,’ घोषले भने, ‘प्रतिस्पर्धी बजारमा पनि आन्तरिक खपत गरी अतिरिक्त बिजुली बेचिरहेका छौं ।’

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) छ । गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रतियुनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क प्राधिकरणले बेहोर्नुपर्ने छैन ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत