स्वास्थ्य

वल्र्ड लिङ्क र साइकडेस्क फाउन्डेसनद्वारा विराटनगरमा आत्महत्या रोकथाम तालिम

काठमाडाैं । वल्र्डलिङ्क कम्युनिकेसन्स र साइकडेस्क फाउण्डेसनको आयोजनामा ५४ औँ समुहको आत्महत्या रोकथाम सहजीकरण तालिम विराटनगरमा सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको १९ वडामा कार्यरत स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि शनिवार दुई दिने तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको समन्वय, वल्र्ड लिङ्कको आर्थिक सहयोगमा साइकडेस्क फाउन्डेसनले तालिम आयोजना गरेको हो । वल्र्ड लिङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगरमा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि आत्महत्या रोकथाम सम्बन्धी तालिम आयोजना गरिएको हो।

दुई दिनसम्म चलेको तालिमले स्वास्थ्यकर्मीलाई मनोपरामर्श दिन सक्षम बनाउने प्रमुख प्रशिक्षक प्राध्यापक डा. नरेन्द्र ठगुन्नाले बताए । तालिमको उद्घाटन गर्दै शिक्षकहरुका नगर प्रमुख नागेश कोईरालाले तालिम पश्चात् स्वास्थ्यकर्मीलाई मनोपरामर्श दिन सहज हुने बताए । उनले तालिमले स्वास्थ्यकर्मीलाई व्यक्तिमा रहेको मनोवैज्ञानिक समस्या बुझ्न सजिलो हुने विश्वास गरेका छन् ।

आत्महत्याको न्यूनीकरण गर्न भावनात्मक र सामाजिक सहयोगसँगै मनोविज्ञानको शिक्षाले पनि यसलाई न्यूनीकरण गर्न सहज पु–याँउछ । विभिन्न खालका मानसिक तनावले बालबालिका र युवायुवतीमा अहिले आत्महत्या गर्ने संख्या बढ्दो छ ।

दुई दिने सहजीकरण कार्यशालामा आत्महत्या रोकथामको तालिममा ३७ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण साइकडेस्क फाउण्डेसन र द स्कुल अफ साइकोलोजीका अध्यक्ष मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना र चेतन खड्काले गरेका थिए ।  

कार्यशालामा मनोविद् डा. ठगुन्नाले आत्महत्याको कारण, लक्षण, रोकथामको लागि समाज, परिवार, साथीभाई, शिक्षकको भूमिकाको  एवं सहजिकरणका सीपहरु, शोक, क्षति र वियोग, सकारात्मक मानसिक स्वास्थ्य र स्वहेरचाह, मानसिक स्वास्थ्य प्राथमिक उपचार आदिको बारेमा प्रशिक्षण दिएका थिए ।

सो संस्थाले एक दशकदेखि मानसिक स्वास्थ्यकाे क्षेत्रमा काम गर्दै आइरहेकाे छ । हालसम्म १ हजार २ सय ५० जनाले यस्ताे २ दिने तालिम लिइसकेकाे र तालिम लिइएकाहरुले मेची देखि महाकालीसम्मका ५० जिल्लामा करिब ८ सय भन्दाबढि आत्महत्या रोकथाम सम्बिन्ध अभिमूखिकरण तालिमबाट करिब ८० हजारभन्दा बढिलाई सेवा दिइसकेको अध्यक्ष मनोविद् डा. ठगुन्नाले जानकारी दिए ।

मानसिक स्वास्थ्यकाे आत्महत्या रोकथामको लागि सहकार्य गर्दै आएकाे वल्र्डलिङ्क कम्युनिकेसन्सकी स्थापक शेयरधारक र सामाजिक उत्तरदायित्व प्रमुख अनुपा भण्डारी जालानले आत्महत्या रोकथामको ५४ औं समूहको तालिम समापन समारोहको अध्यक्षतापछि सम्बाेधन गर्दै सचेतनाका लागि विराटनगरका विभिन्न ठाउँहरूमा साइड वक टक कार्यक्रम पनि चलाएकाे बताइन् ।

उनले भनिन,- 'हामीले विराटनगर महानगरपालिकामा चार दिनको कार्यक्रम लिएर आएका थियौँ । जसमा पहिलो दुई दिनको कार्यक्रममा हामीले महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूसँग हातेमालो गरी विराटनगरका विभिन्न ठाउँहरूमा 'साइड वक टक' प्रोग्राम चलायौं । साइड वक टक प्रोग्राम गर्नुको मुख्य उद्देश्य भनेको व्यक्तिको मनका कुरा सुनिदिनु हो जसले गर्दा उहाँहरूको मानसिक अवस्था शान्त पार्न मद्दत पुगोस् साथै यस्ता किसिमका कार्यक्रमले जस्तो सुकै मानसिक स्थितिमा रहनु भएको व्यक्तिहरुको मनको कुरा सुनिदिनु हो र यस्तो किसिमको कार्यक्रमलाई हामीले विराटनगर महानगरपालिकामा आगामी तीन महिना सम्म निरन्तरता दिने सोचेका छौँ।'

यसअघि सुदूरपश्चिममा आत्महत्याको घटना कसरी न्यूनीकरण गराउन सकिन्छ भनेर कार्यक्रम गरिएकाे बताइन् । उनले भनिन्- 'सुदूरपश्चिम पछि यहाँ कोशी प्रदेशमा कार्यक्रम लिएर आउनुको हाम्रो अर्को उद्देश्य के हो भने, तथ्याङ्क अनुसार  यहाँ आत्महत्याको घटना बढी हुने जोखिम भएको र यस्ता किसिमका घटनाहरूलाई कसरी न्यूनीकरण गराउन आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी दुई दिने तालिमको आयोजना गरेका छौँ । यो दुई दिने कार्यक्रमबाट सिकेको ज्ञानले आफनो परिवार, टोल, समाजका व्यक्तिहरु, जो मानसिक रोगमा उल्झिनु भएको छ र आत्महत्या गर्ने सोचमा पुग्नु भएका छन, त्यस्ता व्यक्तिहरुलाई आफूले सिकेको ज्ञानले उहाँहरुलाई बचाउन  सफल हुनुहुनेछ भन्ने कुराको अपेक्षा पनि राखेको छु।'

प्रशिक्षक मनोविद् डा. ठगुन्नाले आत्महत्या गर्नु अगाडि आउने सोच र त्यो सोच आएमा के गर्ने कोसँग सहयोग माग्ने भन्ने जस्ता कुरामा छलफल गरेर यो तालिम सम्पन्न गरिएकाे बताए ।

आत्महत्याको सोच आएमा वा कसैले त्यस्तो कुरा राखेमा नेपाल सरकारले दिएको हटलाईन नम्बर ११६६ मा फोन गरि जानकारी गराउन सकिन्छ । जुन नम्बर २४ सै घण्टा उपलब्ध हुन्छ । आकास्मिक समयमा यो नम्बरमा सम्पर्क गरेर परामर्श लिन सकिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत