शिक्षामन्त्रीले मागिन त्रिभुवन विश्वविद्यालयमा सुरक्षा
- गाउँ सहर संवाददाता
- ५ भदौ बुधबार, २०८१ | ०८:३४:०० मा प्रकाशित

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् ।
शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, 'त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।'
केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको बताइएको छ । असुरक्षाका कारण देखाउँदै उपकुलपति, रेक्टर र रजिस्ट्रार अनुपस्थित भएका छन् । रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल शुक्रबारदेखि नै कार्यालय आएका छैनन् भने उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएकाले गत सातादेखि नै बिदामा छन् ।
शुक्रबार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरेको थियो । ‘विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारण पदाधिकारी तथा केन्द्रीय कार्यालय परिसर कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महसुस बढ्न गएको छ,’ रजिस्ट्रार रिजालले लेखेको पत्रमा भनिएको छ, ‘गृह मन्त्रालय मार्फत उपकुलपति, शिक्षाध्यक्ष (रेक्टर), रजिस्ट्रारको निजी आवास र केन्द्रीय कार्यालय परिसरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि अनुरोध छ ।’
मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखको नाम सिफारिस गरेपछि नियुक्तिको निर्णय हुन नसकेको कार्यकारी परिषद् स्रोतले जनाएको छ । विभागीय प्रमुख युवराज लुइँटेलको कार्यकाल शुक्रबार सकिएको थियो । ज्येष्ठता र वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्त हुने व्यवस्था कार्यविधिमा छ ।
डिन शाक्यले पहिलो नम्बरमा रहेका पासाङ शेर्पालाई पछि पारेर दोस्रो वरीयतामा रहेका सहप्राध्यापक टीकाराम गौतमको नाम सिफारिस गरेपछि नियुक्तिमा विवाद भएको कार्यकारी परिषद्का एक सदस्यले बताए । विभागले भने वरिष्ठताका आधारमा एक नम्बरमा सहप्राध्यापक शेर्पा, दुई नम्बरमा गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस