पुल बनिसकेको देखाएर पहिल्यै नै ठेकेदारलाई साढे चार करोड रुपैयाँ भुक्तानी
- गाउँ सहर संवाददाता
- ३० श्रावण बुधबार, २०८१ | १३:०१:०० मा प्रकाशित
काठमाडाैं । आफूले काम सम्पन्न गर्दासमेत रकम नपाएको भन्दै काठमाण्डूमा निर्माण व्यवसायीहरूले लामो समयदेखि सरकारमाथि लगातार दबाव दिने गरेका छन् । उक्त मुद्दा संसद् र सरकारमा पनि बहसको विषय बन्दै आएको छ । तर रुकुम पश्चिममा काम नसकिँदै सबै रकम भुक्तानी दिइएको घट्नाले यतिबेला ठेकेदारबीच चर्चा छ ।
घटना रूकुम पश्चिमकाे हाे । रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो । ती तीन वटै पुल बनिसकेका छैनन् । तर ठेकेदारले सबै भुक्तानी पाइसकेका छन् ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे पुल बनाउने ठेक्का हरिहरि पिएस जेभीले पाएको छ ।
कुसुम खोलामा एक करोड दुई लाख ६ हजार २२४ रुपैयाँ, भल खोलामा दुई करोड ५४ लाख ९१ हजार ७०१ र साक्चा खोलामा पुल बनाउन एक करोड ७ लाख ९१ हजार ३८७ रुपैयाँमा ठेक्का दिइएको हो ।
ती कुनै पुल पूर्णरूपमा बनेका छैनन् । तर कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका अनुसार तीन वटै झोलुङ्गे पुल निर्माण भइसकेको भनेर स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई कूल चार करोड ६४ लाख ८९ हजार ३१२ रुपियाँ भुक्तानी दिइसकेको छ ।
सरकारी कागजमा ती पुलहरू असार महिनाभित्रै सम्पन्न भइसकेको देखाइएको अधिकारीहरूले जनाएका छन् ।
साउन महिनाको तेस्रो हप्तासम्म साक्चा खोला पुलको दुईतिरको फाउन्डेशन मात्रै बनाउने काम भएको छ । पुल निर्माण स्थल आसपासका स्थानीय बासिन्दाहरूका अनुसार पुलको निम्ति केही सामान ल्याइएको छ तर निर्माणको काम अघि बढेको छैन । उक्त पुलले रुकुम पश्चिमको गोठ खोला र सल्यानको पैयाँ डाँडा जोड्छ । पुल निर्माण भइरहेको चौरजहारी वडा नम्बर १४ का वडा अध्यक्ष थलबहादुर कवरले गत जेठ महिनाको दोस्रो साताबाट निर्माण थालिएको जानकारी दिए ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार उक्त पुल निर्माणको निम्ति त्यही महिनामै करिब ८० लाख रुपैँया भुक्तानी भइसकेको थियो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले बाँकी २८ लाख पनि भुक्तानी दिइसकेको छ ।
वडा अध्यक्ष कवरले भने, “निर्माण थालेको तीन महिनामा ३०-३५ प्रतिशत जति मात्रै काम भएको देखिन्छ ।”
आठबीसकोट नगरपालिका १ कुसुम खोला र वडा नम्बर २ भल खोलाको झोलुङ्गे पुलको काम अहिलेसम्म आधा जति पनि नभएको स्थानीय बासिन्दाहरूले बताएका छन् । कुसुम खोला पुलको साउनको तेस्रो सातासम्म फाउन्डेशन र पिलर निर्माणको काम सकिएको छ ।
भल खोलामा झोलुङ्गे पुल बनिरहेको वडा नम्बर २ का वडा अध्यक्ष देवबहादुर यरी पनि पुलको काम अझै बाँकी रहेको बताउँछन्। “अहिलेसम्म पुलमा लट्ठा तानिएको छ। अरू काम बाँकी नै छन्,” उनले भने।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जाजरकोटमा भूकम्पको धक्का
- कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त’ घोषणा, राष्ट्र बैंकले लियाे व्यवस्थापन
- एमालेले भीम रावललाई पार्टीबाट हटायो, पाण्डे र तिमल्सेनालाई ६ महिना निलम्बन
- राजधानी केन्द्रित आन्दोलनकाे तयारी गर्दै राप्रपाद्वारा नुवाकाेटमा प्रशिक्षण
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिकृया दिनुहोस