अर्थतन्त्र

यस्ताे छ चालु आर्थिक वर्षका लागि मौद्रिक नीति (पूर्णपाठ)

कामठाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन् । 

अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत  निरन्तरता दिइएको गभर्नर अधिकारीले जानकारी दिए । उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको उनले बताए । 

समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरूबिच तादात्म्यता कायम गरिएको पनि उनले बताए । 

मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ । यस्तै मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ । 

यस्तै कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने,  भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनमार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गर्ने, ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने जस्ता लक्ष्य मौद्रिक नीतिले लिएको छ।  

गाउँ सहर संवाददाता

तपाईँको मत