राजनीति

एकीकृत समाजवादीमा पुरानै नेतृत्व सर्वसम्मत

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको नेतृत्व चयनमा सहमति जुटेको छ। सहमतिअनुसार अध्यक्षमा माधव नेपाल दोहोरिएका छन्।

त्यस्तै झलनाथ खनाल सम्मानित नेताका रूपमा दोस्रो वरीयतामै कायम रहने भएका छन्। महासचिव घनश्याम भुसाल निरन्तर रहने भएका छन्।

एकीकृत समाजवादीका नेता मोहन गौतमका अनुसार मुख्य नेतृत्वबीच सहमति भएपछि यी तीन पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो।

सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। त्यसलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न नेताहरू छलफलमा जुटेका थिए। अध्यक्ष माधव नेपालले बिहीबार बिहानैदेखि विभिन्न नेताहरूसँग छलफल थालेका थिए।

एकीकृत समाजवादीको महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि रहेका छन्।

यसअघि घनश्याम भुसालले पुस्तान्तरणको नारा दिएर अध्यक्षमा दाबी गरेका थिए। पद छाड्न नेपाल तयार नभए कार्यकारी शक्ति महासचिवमा हुने गरी विधानमा सेरेमोनियल अध्यक्षको व्यवस्था गर्नुपर्ने उनी पक्षका नेताहरूको अडान थियो। 

तपाईँको मत