खेल

फिफा विश्वकप छनोटकाे अन्तिम खेल खेल्दै नेपाल, किरण कप्तानीमा सय खेल

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोली यमनविरुद्ध सुखद नतिजा निकाल्दै फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटको अन्त्य गर्ने आशामा छ। 

छनोटको अन्तिम खेलमा आज (मंगलबार) राति नेपाल र यमन भिड्दैछन्। यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने दोस्रो लेग राति पौने १० बजे हुनेछ।  छनोटको अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा अंक बटुल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ। 

विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन। पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको नेपाली टोली आजको खेलमा सुखद नतिजाको आशामा छ। 

नेपालले यूएई र यमनविरुद्धको दोस्रो लेग घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले तथष्ट भुमिका रुपमा साउदीमा खेल्नुपरेको हो। 

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समुह चरणका पाँचै खेलमा हार भोगेको छ। नेपालले यूएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो।
 
बहराइनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो। समूह ‘एच’ मा रहेको नेपाल सबै खेलमा हार भोग्दै अंक तालिकाको पुछारमा छ। 

समान खेलबाट अपराजित रहेको यूएई १५ अंकमा तालिकाको शीर्ष स्थानमा छ। बहराइन १० अंकमा दोस्रो र यमन ४ अंकमा तेस्रो स्थानमा छ। 

सयौँ खेल खेल्दै कप्तान किरण 
राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बुले यमनविरुद्ध आफ्नो १ सयौँ खेल खेल्दैछन्।  

सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। वर्तमान टोलीका सिनियर खेलाडी मध्येका एक किरण राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने एक्ला खेलाडी हुन्। 

यमनविरुद्धको खेलअघि कप्तान किरणले भने, ‘यमनविरुद्धको खेलका लागि उत्साहित छौँ। अहिलेसम्म अंक बिहीन छौँ। अब विश्वकपको छनोटबाट बाहिरिए पनि राम्रो नतिजा ल्याएर सुखद अन्त्य गर्ने आशा छौँ। त्यसपछि एसियन कपमा ध्यान दिनेछौँ। खेलमा जसरी हुन्छ अंक ल्याउने योजनामा हुनेछौँ।’

राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलरक्षक कप्तान किरणले राष्ट्रिय टोलीबाट एएफसी सोलिडारिटी कप जितेका छन्। यस्तै व्यवसायिक खेल जिवनमा तीन फरक देशबाट उपाधि समेत उचाली सकेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत