वातावरण

नेपाल पस्याे मनसुन, कति हुन्छ वर्षा ?

काठमाडौं । यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भित्रिएको छ । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।

नेपालका अरू भूभागमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।

हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रन सक्छ ।

देशभर वर्षभरि हुने वर्षाको अधिकांश हिस्सा मनसुन सिजनमा हुन्छ । मनसुन, प्रिमनसुन, पोस्ट मनसुन र विन्टरमध्ये वर्षाको अधिकांश हिस्सा मनसुनमा हुने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन अवधिमा वर्षभरि हुने कुल वर्षाको ८० प्रतिशत पानी पर्ने विभागका मौसमविद् सुदर्शन हुमागाईं बताउँछन् । उनका अनुसार, प्रिमनसुनमा १२ र पोस्ट मनसुन र विन्टरमा ४/४ प्रतिशत वर्षा हुन्छ ।

विभागका अनुसार, नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।

यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

कोसी प्रदेशको दक्षिणी, मधेस, वाग्मतीको दक्षिणी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत