स्वास्थ्य

बजेटले स्वास्थ्यका यी कुरा समेट्याे, उपचार सेवालाई सर्वसुलभ र निःशुल्क बनाउने यस्ता घाेषणा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा उक्त मन्त्रालयका लागि रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको जानकारी दिए ।

आगामी बजेटमा आधारभूत तथा अत्यावश्यक उपचार सेवालाई सर्वसुलभ र निःशुल्क बनाउने मन्त्री पुनले बताए । उनले आधारभूत अस्पताल निर्माणका लागि रु १५ अर्ब ४१ करोड विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्‍चालन गरिनेछ। निर्माण सम्पन्न भएका पाँच,  दश र पन्ध्र शैयाका आधारभूत अस्पतालको विधि तय गरी सञ्‍चालन गरिने भएको छ ।  निर्माणाधीन अस्पतालको निर्माण कार्य सम्पन्न गरिनेछ। यसका लागि रु १५ अर्ब ४१ करोड विनियोजन गरेको मन्त्री पुनले बताए ।

विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्‍जुरी, हेड इञ्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियतको लागि प्रति बिरामी व्यक्ति एक लाख बराबरको रकम प्रदान गर्न ३ अर्ब विनियोजन गरिएको छ ।

संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्‍चालन गरी ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइने भएको छ । क्यान्सर, मेरुदण्ड र पक्षघात रोगको उपचार, मृगौला प्रत्यारोपण र डायलाइसिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्च बापत दिँदै आएको प्रतिव्यक्ति प्रति महिना रु. पाँच हजार सम्बन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाइएको छ । यसका लागि रु २ अर्ब विनियोजन गरिएको छ । 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिको अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु परीक्षण सेवा सञ्‍चालन गरिने बजेटमा उल्लेख छ । अटिजम, बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको विकास अवस्था र बाल मानसिक समस्याको पहिचान, निदान, उपचार तथा पुनःस्थापनामा संलग्न हुने जनशक्तिको क्षमता अभिवृद्धि गरिने जनाएको छ । 

त्यसैगरी वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने बजेट उल्लेख छ । कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिने पनि बजेटमा समेटिएको छ । भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गरिने बताइएको छ ।  नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्‍चालन गर्ने व्यवस्था मिलाइने जनाएको छ। 

आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरणसम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता अभिवृद्धि गरिने भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गर्न बजेटमा समेटिएको छ । 

कर्णाली, पोखरा, पाटन, राप्ती र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा  र गजेन्द्रनारायण सिंह अस्पतालको क्षमता विकास गरी ५०० शैयामा स्तरोन्नति गरिने र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट छुट्टयाएको छ । 

त्यस्तै सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, बी.पी. कोइराला क्यान्सर अस्पताल, जि।पि।कोइराला राष्ट्रिय श्‍वासप्रश्‍वास उपचार केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास तथा उपकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको बजेट भाषणमा मन्त्री पुनले बताए । 

तीन सय शैया वा सोभन्दा बढी क्षमताका संघीय अस्पतालमा एमबिबिएस र सय शैया वा सोभन्दा बढी क्षमताका सरकारी अस्पतालमा नर्सिङ्गसम्बन्धी शैक्षिक कार्यक्रम क्रमशः सञ्‍चालन गरिने भएको छ। आगामी आर्थिक वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्‍चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।  

आयुर्वेद, प्राकृतिक चिकित्सा,योग, होमियोप्याथी, यूनानी, अक्युपङ्चर, सोवारिग्पा लगायतका अन्य वैकल्पिक उपचार पद्धतिको विस्तार गरिनेछ। नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिने भएको छ । काठमाडौँको बुढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्र भवनको निर्माण सम्पन्न गरी सञ्‍चालनमा ल्याइने उल्लेख छ । सिंहदरबार वैद्यखानाको पुर्नसंरचना गरी क्षमता विस्तार गरिने जनाएको छ । आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवर्द्धन गरिने भएको छ । सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्‍चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाइनेछ। वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड विनियोजन गरिएको छ ।  

काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने बजेटमा उल्लेख छ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने भएको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रूपैयाँ विनियोजन गरिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत