एकदिवसीय सिरिजको पहिलो खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग नेपाल ‘ए’ पराजित
- गाउँ सहर संवाददाता
- २१ चैत बुधबार, २०८० | १५:०२:०० मा प्रकाशित
काठमाडौं । आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ ।
वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो । नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको हो ।
नेपालले छैटौं ओभरमा ओपनर देव खनाललाई २६ रनमा गुमाउँदा स्कोर ३५-१ को स्थितिमा थियो । उनले २२ बलमा ४ चौकासहित २६ रन जोडे । तर त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६-६ को दयनीय स्थितिमा पुग्यो ।
अर्जुन कुमाल ९ रन जोड्दा भीम सार्की गोल्डेन डक आउट भए । आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन जोड्दै आउट हुँदा नेपाल ७८-७ को स्थितिमा पुग्यो ।
बसिर अहमद २१ बलमा २० रन जोडेर पेभेलियन फर्किए । साहब आलमले त्यसपछि रन गति बढाएपनि उनी २५ औं ओभरमा क्याच आउट भए । ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी ३७ रन जोड्दै बाउन्ड्रीनजिक आउट भए । अर्को ओभरमा श्याम र रिजनबीच समन्वय नहुँदा रनआउटसँगै नेपाल अलआउट भयो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएर आयरल्यान्डको तल्लोक्रम धराशायी पारे । वल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे ।
वल्भ्सले छैटौं ओभरमा जेम्स मकलमलाई १२ रनमा गुमायो । रिजन ढकालले उनलाई विकेटकिपरको हातबाट क्याच आउट गराए । नवौं ओभरमा डोहेनी पनि १२ रनमै साहब आलमको एल्बीडब्लु धरापमा परे ।
पिटर मुर २१ रनमा श्याम ढकालको बलमा बोल्ड हुँदा वल्भ्स ६१-३ को स्थितिमा पुग्यो । कप्तान निल रक र कार्माइकलले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । रक ३२ बलमा ३९ रन जोड्दै कमलको बलमा एलबीडब्लु आउट भए ।
त्यसपछि वल्भ्सले लगातार विकेट गुमाउन पुग्यो । डेलनी ६ रन जोड्दै श्यामको एलबीडब्लु शिकार बने । फिओन ह्यान्ड पहिलो बलमै रन जोड्ने धुनमा रनआउट भए । कार्माइकल ३७ औं ओभरमा साहबको बलमा क्याच आउट भए ।
त्यसपछि कमलले ३९ औं ओभरको सुरुवाती ३ बलमा विकेट लिए । लियाम मकार्थी क्याच आउट भएपछि कमलले म्याथ्यु हम्फ्रिज र बेन ह्वाइटलाई लगातार बलमा बोल्ड गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जाजरकोटमा भूकम्पको धक्का
- कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त’ घोषणा, राष्ट्र बैंकले लियाे व्यवस्थापन
- एमालेले भीम रावललाई पार्टीबाट हटायो, पाण्डे र तिमल्सेनालाई ६ महिना निलम्बन
- राजधानी केन्द्रित आन्दोलनकाे तयारी गर्दै राप्रपाद्वारा नुवाकाेटमा प्रशिक्षण
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’
- वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख, आयात र निर्यात बढ्यो
- प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिकृया दिनुहोस