गाउँ सहर

तराईमा होली मनाइँदै आज, सार्वजनिक बिदा

काठमाडौं । रङहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदैछ। पहाडी जिल्लामा आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई-मधेसका जिल्लाहरूमा भने आज होलि मनाउन लागिएको हो।

होलीका अवसरमा सरकारले आज तराई-मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउँदैछन्।

होली पर्वको आफ्नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ। दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुसियालीमा होली मनाउने गरिन्छ।

परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ। होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ। होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ। स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक-फरक छ। हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेसमा ‘होली’ भनिन्छ।

मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ। होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत