गाउँ सहर

बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो। 

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। उनले दुर्घटनामा २०/२५ जना घाइते रहेको बताए। घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए। 

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए। घटनामा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन। साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाइ छ।

गाउँ सहर संवाददाता

तपाईँको मत