गाउँ सहर

अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी आरोपमा चार युवक पक्राउ

काठमाडाैं । अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका- ४ घर भई हाल काठमाडौंको पुरानोबानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका- ११ घर भई हाल भक्तपुरको गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक राम र पर्साको वीरगन्ज महानगरपालिका- १५ घर भई भक्तपुरको गठ्ठाघर बस्दै आएका २४ वर्षीय आकाश साह सोनार छन् । 

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो । 

उनीहरुले फेसबुक, ह्वाट्सएप, ईमो, भाइवर, टिकटक, इन्ट्राग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन ठगी गरेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

‘उनीहरुले अहिलेसम्म ४९ लाख ५८ हजार आठसय रुपैयाँ गठी गरेको उजुरी परेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भने, ‘उनीहरुविरुद्ध अहिलेसम्म पाँच जनाले उजुरी गरेका छन् । घटनाको सम्बन्धमा हामीले थप अनुसन्धान गरिरहेका छौँ ।’

उनीहरुले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिसँग सम्पर्क स्थापित गरेर महँगा मूल्यका मोवाइल, आईफोन, सुनका गहना, जुत्ता र कपडा विदेशबाट मागाइदिने, विदेशमा आकर्षक तलबसहितकाे जागिर लगाइदिने लगायतका प्रलोभनमा पारेर ठगी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उनीहरुको साथबाट सात थान मोवाइल सेट, १६ थान सिमकार्ड, २१ थान विभिन्न बैंकका एटीएम कार्ड, १६ थान विभिन्न बैंकमा रकम डिपोजिट गरेका रसिद, ४ थान चेक, राहदानी, सवारी चालक अनुमति पत्र, नागरिकताको प्रमाणपत्र लगायतका कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत