ठेक्का आह्वानपछि कहिलेसम्म बन्ला गौतमबुद्ध क्रिकेट रंगशाला ?
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण बिहीबार, २०८० | १४:१७:०० मा प्रकाशित
चितवन । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ठेक्का आह्वान भएको छ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको हो ।
महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि टेन्डर आह्वान गरेको हो ।
भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको थियो।
महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको हो।
भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ।
रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए । टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ। यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया थालेको हो ।
यसअघि, वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो।
रंगशाला निर्माणको लागि छनोट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पूरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
- उपनिर्वाचन, २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न - आयोग
- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
प्रतिकृया दिनुहोस