सेवा

लक्ष्मी आदर्शको स्वर्ण महोत्सवका अवसरमा स्वास्थ्य शिविर

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले आफनो स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

आगामी फागुन १६, १७ र १८ गते स्वर्ण महोत्सव समापन समारोह गर्ने कार्यतालिका रहेपनि चालु शैक्षिक सत्र २०८० लाई स्वर्ण महोत्सव वर्षका रुपमा मनाउने क्रममा शुक्रवार रक्तदान र बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

सिसुवा पोली क्लिनिककाे प्राविधिक सहयोगमा संचालन गरिएको सिविरमा विशेष गरि पेट, छाती, मुटु, प्रसुती र वाल रोगका गरी करीव एक सय ५० जनाले सेवा लिएका थिए भने विरामीहरुका लागि आवस्यक पर्ने औषधी पनि निःशुल्क रुपमा वितरण गरिएको थियो ।

विद्यालयका विद्यार्थी,अभिभावक एवम् स्थानीयहरुलाई लक्षित गरी राखिएको सिविरमा फिजिसियन डा. प्रकाश भट्टराई, वाल रोग विषेशज्ञ डा. प्रदिप भट्टराई र स्त्रीरोग विशेषज्ञ बिभा महतोले विरामीको जाँच एवम् स्वास्थ्य परामर्श प्रदान गरेका थिए ।

स्वर्णजयन्ती कै अवसरमा राखिएको रक्तदानमा ३७ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले स्वर्ण महोत्सवलाई सवैको साथ र सहयोगले भव्यताका साथ मनाउन आग्रह गरेका थिए ।

विद्यालयको ५६ औं वार्षिकोत्सव एवम् स्वर्णजयन्तीका अवसरमा विविध सांस्कृतिक कार्यक्रम,पुरस्कार वितरण तथा विद्यालय स्थापना कालदेखि शैक्षिक,भौतिक क्षेत्रमा सहयोग पुर्याउदै आएका भएका चन्दादाता,जग्गादाता,अक्षयकोषदाताहरु लगायतलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले जानकारी दिएका छन् ।

स्वर्ण महोत्सवका अवसरमा सवै क्षेत्र तथा वर्गलाई समेटेर विभिन्न किसिमका रचनात्मक कार्यक्रम गदै फागुन १६ गते स्वर्णजयन्ती स्तम्भको अनावरण,फागुन १७ गते स्वर्णजयन्ती प्रवेशद्धारको उद्घाटन र फागुन १८ गते मुल समारोह सहित विद्यालयको ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन गरिने स्मारिकाको विमोचन सहितको मूल समारोह गर्ने गरी तयारीलाई अगाडि बढाईएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत