गाउँ सहर

आज विद्याकी देवी सरस्वतीको पूजा, आराधना गरिँदै

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । 

आजको दिन श्रीपञ्चमी पर्व अर्थात् वसन्त ऋतुको सुरुवात हुने दिन पनि हो । सरस्वती ज्ञान–विज्ञान, कला–शिल्प, संगीत, साहित्य र विद्याकी देवी हुन् । यसै पर्वलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं 

बौद्ध धर्मावलम्बीहरुले सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । आजकै दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ ।  नाक, कान छेड्नुका साथै विद्यासँग सम्बन्धित कार्यको आरम्भ गर्न उत्तम मानिन्छ  । आज सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वतीको पूजा अर्चना गर्छन् । साथै कुनै पनि नयाँ कामको थालनी सर्वोत्तम साइत मानिन्छ ।

उपत्यकामा पशुपति, जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, बल्खु, चाँगु, फर्पिङ, हाँडीगाउँ, लेले लगाएत सरस्वती मन्दिरहरुमा पूजा तथा दर्शन गर्न भीड लाग्दछ । 

सरस्वतीलाई मिश्री, दुध, दही, तुलसी, मह मिलाएर पञ्चामृत प्रसाद बनाएर चढाउने प्रचलन  छ भने सेतो रङ, फूल, चन्दन आदि पूजा सामाग्री चढाउने गरिन्छ । 
सरस्वतीलाई चढाएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हुनमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत