खेल

यू-१९ विश्वकप क्रिकेट अन्तर्गतकाे खेलमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।

अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए । त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए ।

सिनियर टोलीबाट खेलेका गुलशन झाले चार खेलमा २, १, १८ र ३ रन बनाएका छन् । कप्तान देव खनालले न्युजिल्यान्डसँग ३६, पाकिस्तानसँग २३, अफगानिस्तानसँग ५८ र बंगलादेशसँग ३५ रन बनाएका थिए । देवले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।

नेपालका अर्जुन, देव र गुलशन प्रमुख ब्याटर हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्न आवश्यक पर्दछ ।

पछिल्लो खेलमा मौका पाएका विशाल विक्रम केसीले ४८ रन बनाएका थिए । अन्य ब्याटरले पनि जिम्मेवारी लिन आवश्यक छ ।

बंगलादेशविरुद्ध ५ विकेट लिएका स्पिनर सुभाष भण्डारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन् । आकाश चन्द, दुर्गेश गुप्ता र गुलशन तीव्र गतिका हुन् । पछिल्लो खेलबाट विपिन रावललाई बेन्चमा राख्दै उत्तम थापामगरलाई नेपालले आजको खेलमा मौका दिनसक्छ ।

भारतका मुशिर खान प्रमुख हतियार हुन् । उनले यस विश्वकपमा आयरल्यान्डसँग ११८, अमेरिकासँग ७३ र न्युजिल्यान्डसँग १३१ रन बनाएका छन् । उनले स्पिन बलिङका साथ ७ विकेट लिएका छन् ।

कप्तान उदय शहारान र आशिन कुलकर्णी पनि राम्रो ब्याटर हुन् । गत डिसेम्बरमा एसिया कपमा नेपाललाई ५२ रनमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले एक्लै ७ विकेट लिएका थिए । उनीबाट पनि नेपाल जोखिनु पर्ने हुन्छ ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।

नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत