गाउँ सहर

साैखिन ‘तपस्वी’ बम्जन : कराेडाैं रूपैयाँदेखि गाडी, माेबाइल बरामद

काठमाडौं । प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी पक्राउ गरेसँगै उनको घर खानतलासी गरेको थियो ।

उनको घरबाट सीआईबीको टोलीले तीन करोड भन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिइन् ।

बम्जनको घरबाट जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ देशका विदेशमी मुद्रा रहेको छ ।

त्यस्तै उनले ल्यान्डक्रुजर-जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो । उक्त गाडी ललितपुर महानगरपालिका वडा नं. २२ बुङमतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको थियो । महर्जन बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष हुन् । त्यस्तै बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ ।

बम्जनलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको थियो । मंगलबार पनि सीआईबीले पक्राउ गर्ने बेलामा उनी झ्यालबाट हाम फालेर भाग्न खोजेका थिए । बम्जन आफू बस्दै आएको घरको चौथो तलाबाटै भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा पक्राउ गरेको सीआईबीको दाबी छ ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदातले २०७६ साल माघ २३ गते नै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा रहेका बम्जनले आफू तपस्वी भएको बताउँदै आएका थिए । तर उनकै आश्रमबाट अनुयायीहरू बेपत्ता पारेका विभिन्न उजुरीसमेत प्रहरीमा परेका छन् ।

उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तीगौडाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्रान्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, दुईवटा ल्यापटप, १४ वटा विभिन्न ब्रान्डका मोबाइल, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ ।

पक्राउ परेका बम्जनलाई आजै सार्वजनिक गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत