विद्युत

भारतीय विदेशमन्त्री जयशंकरकाे भ्रमण : दीर्घकालीन विद्युत् व्यापार सम्झौतादेखि पशुपति दर्शनसम्म

काठमाडौं । नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा दीर्घकालीन पीपीएमा हस्ताक्षर हुन लागेको हो। 

नेपाल–भारत विद्युत् खरिद सम्झौता (पीपीए) हुने निश्चित भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरको उपस्थितिमा ऊर्जा सचिव गोपाल सिग्देल र समकक्षी पंकज अग्रवालले दीर्घकालीन पीपीएमा हस्ताक्षर गर्दै छन्। त्यसको समय भने तय नभएको प्रवक्ता सिंहले बताए। 

दीर्घकालीन पीपीए भए २५ वर्षका लागि नेपालले भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बेच्न पाउनेछ। अहिले भारतले करिब ५२२ मेगावाटको विद्युत् निर्यातको स्वीकृति दिएको छ, जुन हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगत्तै नेपाली अधिकारीहरूले दीर्घकालीन पीपीएको मस्यौदा भारतलाई पठाएका थिए। गत जेठको अन्तिम साता नै दीर्घकालीन पीपीएका लागि नेपाल–भारतबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको छ। त्यसपछि भदौमा दीर्घकालीन पीपीए गर्ने भनेर भारतको मन्त्रिपरिषद्बाट पनि अनुमोदन भइसकेको छ। 

भारतीय विदेशमन्त्रीको भ्रमणको समयमा ३ प्रसारणलाइनको पनि संयुक्त उद्घाटन हुने ऊर्जा मन्त्रालयका प्रवक्ता सिंहले जानकारी दिए। विहारसँग जोडिएका रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी प्रसारणलाइनको दोस्रो सर्किटको उद्घाटन हुने छ भने र मैनिया–न्यू नौतनवा १३२ केभी लाइनको उद्घाटन हुनेछ।  

सिंगल सर्किट मात्र रहेका यी लाइनहरूको डबल सर्किट उद्घाटनपछि नेपालबाट विद्युत् आयात/निर्यात गर्न सकिनेछ। यसअघि यी लाइनबाट विद्युत् आयात मात्रै हुँदै आइरहेको थियो। वर्षायाममा खेर जाने बिजुलीलाई भारत निर्यातका लागि यी प्रसारणलाइनले सघाउ पुर्‍याउने प्रवक्ता सिंहले जानकारी दिए।

परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत आयोगको बैठकको अर्को प्रमुख एजेन्डा नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् निर्यात पनि हो । नेपालले बंगलादेश विद्युत् निर्यात गर्ने विषयमा भारतको सहजीकरणका लागि पहल गर्दै आएको छ । त्यस्तै अधिकारीहरूका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेलामा समेत चर्चा पाएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका सम्बन्धमा पनि छलफल हुनेछ । बैठकमा परियोजना कार्यान्वयन गर्ने सन्दर्भमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपालले भारतसमक्ष पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको विषय पनि राख्ने परराष्ट्रका अधिकारीहरूले बताएका छन् । दुवै विमानस्थल सञ्चालनमा आए पनि सहज ढंगले अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । बैठकमा साना पूर्वाधार निर्माणमा भारतले गर्ने अनुदान सहयोगसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम छ । मन्त्रिपरिषद् बैठकले आयोगको बैठकमा सम्झौता गर्ने गरी भारतले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत नेपालमा सञ्चालन गर्ने परियोजनाको लगानी सीमा ५ करोडबाट २० करोडमा बढाउने निर्णय गरिसकेको छ । सोही निर्णयअनुसार बिहीबार सम्झौताको तयारी छ ।

यस्ताे छ भ्रमण तालिका 

भारतीय विदेशमन्त्री जयशंकर करिब २६ घण्टा काठमाडौंमा रहनेछन् । बिहान १० बजे काठमाडौंमा उत्रिएर उनले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यहाँबाट उनी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । बालुवाटारबाट उनी परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन होटल याक एन्ड यती पुग्नेछन् । जहाँ उनको भेटवार्ता समकक्षी साउदसँग हुनेछ । त्यसपछि बस्ने आयोगको बैठकमा सहमतिमा हस्ताक्षर कार्यक्रम हुनेछ ।

विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने छन् । बेलुकी ६ बजे परराष्ट्रमन्त्री साउदले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । शुक्रबार बिहान भने पशुपतिनाथको दर्शन गरेर दूतावासको कार्यक्रममा सहभागी हुँदै दिउँसो १२ बजे उनी नयाँदिल्ली फर्कनेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत