गाउँ सहर

जागिरमा आफ्नालाई घुसाएपछि बालेनले निलम्बन गरे सचिवालय प्रमुखसहित तीन कर्मचारी

काठमाडौं । करार कर्मचारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका छन् ।

मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई सोमबार मेयर शाहले निलम्बन गरेको महानगर स्रोतले बतायो ।

वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ ।

उक्त घटनामा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसमेत बिदामा बसेका छन् । आचार्य पनि यस प्रकरणमा सलंग्न रहेको स्रोतले बतायो । २३ औं नगरसभाको १५ औं एजेण्डामा करारको स्वास्थ्य कर्मचारीहरुको सेवा अवधि थप गर्ने निर्णय थियो ।

नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको स्रोतले बतायो ।

शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन बैठकको निर्णय नै २ पटक परिवर्तन गरिएको पाइएपछि मेयर शाह आफैं एक्सनमा उत्रिएका छन् ।

‘नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, बिडारीले आफनी छोरीलाई जागिर खुवाउन निर्णयभित्र घुसेर ५ जनाको ठाउँमा ६ जना बनाएर छोरीको नाम थप गरेको पाइयो ।’

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । कार्यपालिकाको बैठकका निर्णयहरु प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्छ। त्यसपछि मात्रै मेयरको कार्यालयमा जाने गर्छ । आचार्यले कर्मचारीले गरेको फेरबदलमै प्रमाणीकरण गरिदिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नै संलग्न भएको घटना भएकाले छानबिन समिति नबनाइ मेयर आफैंले अनुसन्धान गरिरहेको बताइएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।

अधिकारी हिजैदेखि बिदामा बसेकाले हिजोको नियमित नगरकार्यपालिका बैठकमा कोइराला सहभागी भएका थिए । केही दिनअघि सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा पनि निलम्बनमा परेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत