प्रेरणा

चाैरासी पूजाकाे खर्च कटाएर विद्यालयलाई ४ लाख रुपैयाँ सहयोग

म्याग्दी । मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन् । च्युरीबोट घर भई अहिले बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उनका छोराहरूले मङ्गलवार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन् ।

घनमायाले आफ्नो नामबाट एक लाख, स्व. श्रीमान् टेकबहादुर पुनको नाममा एक लाख र स्व. छोरी चित्रा घर्तीको स्मृतिमा पचास हजार रुपैयाँ हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक ललितबहादुर घर्तीमगरले बताए ।

घनमायाका छोरा टार्जन र दुर्गा एवम् छोरी रुपी पुनले थप ५०/५० हजार रुपैयाँ उपलब्ध गराए । घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, विद्यालयका प्रधानाध्यापक, अक्षय कोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरेका थिए ।

घनमायाका जेठा छोरा/बुहारी दलमान र माया पुनले गएकाे वर्ष ५० हजार रुपैयाँ सहयोग गरेका थिए । उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गरेका थिए । त्याे रकम विद्यालयमा सिद्धार्थ अक्षय कोषमा जम्मा गरिने प्रधानाध्यापक घर्तीले बताए ।

चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाध्यक्ष पुनले बताए । सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएका थिए ।

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समूह, क्लबलगायत सङ्घ–संस्थाहरूले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए । विसं २०५५ मा स्थापित अक्षय कोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकहरूलाई तलब र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तीमगरले बताए । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक सय २७ जना विद्यार्थी छन् ।

अक्षय कोषमा देशविदेशमा रहेका च्युरीबोटबासीबाट अहिलेसम्म २४ लाख १४ हजार छ सय ४३ रुपैयाँ सङ्कलन भएको छ । यसै अवसरमा गएकाे वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी भई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ ।रासस

गाउँ सहर संवाददाता

तपाईँको मत