अर्थतन्त्र

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन्२००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।

‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको, प्रतिस्पर्धी बैंकका बिचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो । 

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैंक मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको बैंकले जनाएको छ । बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए । अवार्ड वितरण  समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।

सम्मान प्राप्तीपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । ‘‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हैसला प्रदान गरेको छ । हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ’’ उनले भने । 

त्यस्तै अवार्ड वितरण समारोहपछि सिइओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए । ‘‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु । आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ’’ सिइओ शेरचनले भने । बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए ।

गाउँ सहर संवाददाता

तपाईँको मत