राजनीति

कांग्रेसले ९८ सांसदको १५ दिनको पारिश्रमिक, माओवादी केन्द्रले ५० लाख दिने

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्पपीडितहरूलाई दिने भएको छ।

सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको संसदीय दल बैठकले संघीय सांसदहरूको आधा महिनाको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेको हो।

‘भूकम्पपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ,’ प्रमुख सचेतक रमेश लेखकले भने।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना र राष्ट्रिय सभामा १० जना सांसद छन्। सांसदको तलब ५५ हजार दुई सय ३० रुपैयाँ छ। ९८ जना कांग्रेस सांसदको आधा महिनाको पारिश्रमिक २७ लाख रुपैयाँ हुन आउँछ। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले यसअघि ५० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरिसकेको थियो।

भूकम्प पीडितलाई माओवादी केन्द्रले ५० लाख दिने

माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए । 

यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । 

‘बैठकले पीडितहरूको उद्धारका लागि रु.५० लाख दिने निर्णय भएको छ । सबै प्रदेश कमिटीसँग समन्वय गर्न महासचिव देव गुरुङजीलाई जिम्मेवारी दिएको छ’ उनले भने । 

राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवस/मोर्चा लगायतलाई निर्देशन दिएको उनले बताए । शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो । २५६ जना घाइते भएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत