गाउँ सहर

राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध  मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले बताए ।

विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

प्रहरीले महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ । 

मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो । 

भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगोका रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ । भेपमा सुन लुकाई ल्याएको प्रकरणमा ८ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएकाले उक्त

मुद्दामा उनीहरु दोषी ठहर भएमा कम्तीमा ३ वर्ष र अधिकतम ५ वर्षको कैद सजाय हुनेछ  त्यसबाहेक संगठित अपराधमा पनि उनीहरुको संलग्नता पुष्टी भएमा उनीहरुलाई मुल कसुरमा थप ५० प्रतिशत कैद हुनेछ । यसरी दुवै मुद्दामा दोषी ठहर भएमा अधिकतम साढे ७ वर्ष र न्युनतम साढे ४ वर्षको कैद सजाय हुनेछ ।

दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।

भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए । सीआईबीले गरेको सोधपुछमा समेत महराले त्यो कुरा स्विकारेका छन् । तर मुद्दा दायरमा भने उनलाई उन्मुक्ति दिएर उनका छोरा र अरु ३ जनालाई प्रतिवादी बनाएको छ ।

सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । उनीहरूलाई पक्राउ परेका बखत कारबाही हुने गरी खोजी सूचीमा राखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत