गाउँ सहर

देशको आर्थिक स्थिति : रेमिट्यान्सकाे भर ! साउनमा भित्रियो १ खर्ब १६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार यो रेमिट्यान्स २०७९ साउन महिनाको तुलनामा २५.८ प्रतिशत बढी हो ।

अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१.५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ । अघिल्ला महिनाहरुमा विदेश जानेको संख्या उल्लेख्य बढेकाले रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो ।

 यद्यपि यो साउनमा भने अन्तिम श्रम स्वीकृति लिनेको संख्या गत वर्षको साउनको तुलनामा घटेको छ । साउनमा संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

नेपालले विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा मासिक रेकर्ड कायम गरेको छ । साउन महिनामा हालसम्मकै धेरै अर्थात्‌ १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार २०८० साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ । साउनमा ७.५२ प्रतिशत रहेको बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ । यसबीच घटेको देखिएको बस्तुमा घ्यू तथा तेल उप–समूह अन्तर्गतका बस्तुहरू रहेका छन् ।

यसको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.१३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.८१ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको छ । २०७९ साउन महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.३९ प्रतिशत, ८.७२ प्रतिशत, ८.६४ प्रतिशत र ६.६४ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति भने २०८० साउन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १२.५८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०० प्रतिशत, २.५५ प्रतिशत र २.७२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०५ प्रतिशतले घटेको छ ।

गाउँ सहर संवाददाता

Prabhu N Khadka लेख्नुहुन्छ ३१ भदौ, २०८० ८:५५ pm

देशकाे आम्दानी त यी नेताहरुकाे तलव अनि भ्रष्टाचार गरेरै सिध्याउँछन । रेमिट्यान्समा पनि यिनिहरुकाे पहुँच भएकाे भए त्याे पनि नपकाईकनै पचाउँथे ।

तपाईँको मत