गाउँ सहर

नेता नेम्वाङको अन्त्येष्टि, ठूलो संख्यामा सर्वसाधारण पनि पुगे आर्यघाट

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गरे । सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो । 

त्यसअघि निजी निवास बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो ।

 

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरु, एमालेका नेताहरु आर्यघाट पुगेका थिए ।

नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाए । सो अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरु, सांसदहरु, पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो ।

अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं सर्वसाधारण पुगेका छन् । गत मंगलबार विहान हृदयघातका कारण निधन भएृका नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो । बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत