खेल

गण्डकी प्रदेशस्तरिय महिला भलिबलमा क्वाटरफाइनलको समिकरण पुरा

कास्की । गण्डकी प्रदेशस्तरिय महिला भलिबल २०८० मा क्वाटरफाइनलको समिकरण पुरा भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको ब्यवस्थापनमा पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन क्वाटरफाइनलको समिकरण पुरा भएको हो । जारी प्रतियोगिताबाट स्याङजा, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले जानकारी दिएका छन् ।

सम्पन्न खेलमा म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइलको यात्रा तय गरेको छ । उपाधि नजिक पुग्न म्याग्दीले बागलुङको सामना गर्ने भएको छ । यता बागलुङले गोर्खालाई २५–१७, २५–२२ ले पराजित गर्दै म्याग्दी संग अन्तिम चारमा भेट पक्का गरेको रेफ्रि टुक बहादुर गुरुङले बताए ।

यस्तै स्याङजाले कास्कीलाई र पर्वतले तनहुँलाई पराजित गर्न सफल भए । स्याङजाले २५–२१, २५–१९ ले कास्कीलाई पराजित गर्दै तथा पर्वतले तनहुँ माथी २५–१२, २५–१३ ले जित दर्ता गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतिय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइने छ ।  प्रतियोगितामा ११ वटै जिल्लाका टिमहरुको सहभागिता रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत