विद्युत

मन्थली र बेथानमा ‘हाई मास्ट र स्मार्ट सडक बत्ती’ जडानपछि झिलिमिली

काठमाडाैं । रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सुनापति गाउँपालिका–४ बेथानमा हाई मास्ट र स्मार्ट सडक बत्ती जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकाहरूसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरूमा हाई मास्ट र सडकमा बत्ती राखेको छ ।

बत्ती राखेपछि रातिको समयमा ती क्षेत्रहरू झिलिमिली बनेका छन् । मन्थली नगरपालिमा पर्ने झन्डै छ किलोमिटर सहरी क्षेत्रमा कम बिजुली खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त एक सय ७० वटा सडक बत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।

बसपार्क र बिनिता चोकमा १२ दशमलव ५ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाई मास्ट लाइट जडान गरिएको छ । कम बिजुली खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा तीन सय ३१ वटा स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः एक सय ४८ र एक सय ८३ वटा रहेका छन् । १२ दशमलव ५ मिटर अग्लो पोलमा तीन वटा हाई मास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत दुई करोड रुपैयाँ रहेको छ ।

मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका मेयर लब श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका थिए । बेथानमा जडान गरिएको बत्तीको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्तरूपमा उद्घाटन गरेका थिए । बेथान प्राधिकरणका कार्यकारी निर्देशक घिसिङकाे जन्मस्थान पनि हाे । 

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले बिजुली पुगेका ठाउँमा भइरहेको लोडशेडिङको अन्त्यपछि अहिले चाैबिसै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा बिजुली पुर्‍याउने काम अभियानकै रूपमा भइरहेको बताए । ‘देशभित्र उत्पादित बिजुली यहीँ खपत गर्ने, हिउँदमा मागअनुसार अपुग रहेको बिजुली पुग्ने गरी जलविद्युत् आयोजनाहरू बनाउने र बर्खायाममा देशभित्र खपत गरी बढी भएको बिजुली निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने ।

स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी रात्रिकालीन सौन्दर्यता बढाउने छ । सडक बत्तीकाे महसुल सम्बन्धित पालिकाहरूले तिर्ने व्यवस्था गरिएको छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, बिजुलीकाे माग बढ्ने र रातिको खेर जाने बिजुली पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालितरूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट बिजुलीकाे महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय ठाउँहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । ठेक्का सम्झौताअनुसार सडक बत्ती नियमित मर्मत पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्ने छ । पोल, तार, बत्तीलगायतका संरचनाहरू प्राधिकरणकै स्वामित्वमा रहने छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत