अर्थतन्त्र

कुनै व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुनेगरी करको दर हेरफेर नहुनेः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुनेगरी करको दर हेरफेर नहुने स्पष्ट पारेका छन् ।

सिंहदरबारमा आज शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेरलगायत नीतिगत भ्रष्टाचार नहुने र गर्न नदिने स्पष्ट पारेका हुन् ।

समग्र अर्थतन्त्रलाई दृष्टिगत गरेर आगामी आर्थिक वर्षको बजेट आउने उनले बताएका छन् । उनले मुलकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्नेलगायत कुरालाई बजेटमार्फत प्राथमिकतामा राखिएको जानकारी पनि दिएका छन् ।

डा. महतले अहिले आर्थिक वर्षको नौ महिनापछि बजेट उपलब्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृत्तिलाई आफूले रोकेको जानकारी दिँदै बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने बताए ।

बजेटमार्फत पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रति हुने उनको भनाइ छ । अर्थमन्त्री महतले अहिलो राजस्व कम उठेको क्षेत्रलाई सुधार गर्ने प्रयास भइरहेको भए पनि आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्ने अवस्थानमा रहेको जिकिर गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत