अर्थतन्त्र

वर्तमान आर्थिक तथा वित्तीय स्थिति : बिदेसिने युवा ५२ प्रतिशत, बजार महँगी ८ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार चालू आर्थिक वर्षको ९ महिना अवधिमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । 

९ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ  भने  संघीय सरकारको खर्च रु.९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८१ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको  रिपोर्टमा उल्लेख छ ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले  बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेको बैंकले जनाएको छ । 

आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको बैंकले जनाएको छ । रिपोर्टमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको उल्लेख गरिएको छ । यसैगरी शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा रहेको पनि रिपोर्टमा उल्लेख छ । 

बिदेसिने युवाको संख्या ५१ प्रतिशत

नेपाल राष्ट्र बैंकले रोजगारीको खोजीमा बिदेसिने युवाको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको छ । केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको हो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृती लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ पुगेको छ,’ केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरिएको छ, ‘यो ५१.५ प्रतिशतको वृद्धि हो ।’ यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिन नेपालीको संख्या समेत ५.५ प्रतिशतले बढेको छ । यससँगै, पुनः श्रम स्वीकृती लिने नेपालीहरुको संख्या २ लाख १७ हजार ९५९ जना पुगेको छ । 

बजार महँगी (मुद्रास्फीति) ७.७६ प्रतिशत

वर्षको ९ महिनामा उपभोग्य बजार महँगी (मुद्रास्फीति) ७.७६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ । यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ चैत महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति रहेको थियो । थोक मुद्रास्फीतिको दरलाई हेर्दा २०७९ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५९ प्रतिशत रहेको बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ०.२१ प्रतिशत, ८.८८ प्रतिशत र ५.१८ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.१४ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत