राजनीति

मतगणना अपडेट : कहाँ कसको अग्रता, कसले पाए कति मत ?

काठमाडौं । उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा  मतगणना भइरहेको छ ।

चितवन २ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिएका छन् । पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा १ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गरे । नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा २ मा पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता कायमै छ । ३२४१ मत गणना हुँदा कुशवाहले ११४६ मत, जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १११७ मत, एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेलले ५३८ मत, रास्वपाका रमेश खरेलले २४४ मत प्राप्त गरे भने  आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ११४ मत प्राप्त गरेका छन् । 

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले  अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १५९५८ मत प्राप्त गरे । वाग्लेलाई पछ्याइरहेका  नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९१२० मत प्राप्त गरेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ । एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ५१६६ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो । तनहुँको मतगणना गएरातिदेखि सुरु भएको जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत