खेल

सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भयो : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ति भएको स्वीकार गरेको छ ।

क्यानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा गल्ति भएको स्वीकार गरेको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौतामा क्यानले गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा यसलाई सच्याएर अघि बढ्ने बताए ।

क्यानले प्रतियोगिताका लागि ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो ।

अध्यक्ष चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको समेत बताए ।   

यस्तै अध्यक्ष चन्दले पहिलो संस्करणको लिग सम्पन्न भएपनि  केही कमजोरी भएको बताए ।  

चन्दले ५ टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले केही दिनमा पाउने बताए । खेलाडीको सबै रकम क्लियर हुन केही महिना लाग्ने उनले बताए ।

क्यानले आयोजना गरेको नेपाल टी-ट्वान्टी लिग निकै आलोचित बन्न पुग्यो । स्पट फिक्सिङ काण्ड र भारतीय कम्पनीसँगको सम्झौताले प्रतियोगिता छायाँमा परेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको छानबिनमा नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको पाईएको छ ।

स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल टी ट्वान्टी लिगको छानविन गर्न गठित कार्यदलले प्रक्रिया पुरा नगरि क्यानले सेभेन थ्री  स्पोर्ट्ससँग सम्झौता गरेको भन्दै तत्काल खारेज गर्न सुझाव दिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत