गाउँ सहर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरू

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । 

मन्त्रिपरिषदमा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधान तथा अर्थमन्त्री मन्त्री विष्णु पौडेलले बताए ।

बैठकले सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्न समिति बनाउने निष्कर्ष निकालेको छ ।

यस्तै बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

त्यसैगरी प्रतिक्विटल उखुको मूल्य ५४० रुपैया तोकेको छ र, सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण  बैठकले गरेकाे छ ।

त्यसैगरी क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा बैठकमा छलफल भएको पनि उपप्रधानमन्त्री पौडेलले बताए । कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि आजको बैठकले निर्णय गरेको छ ।

साथै आजको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरूवा गर्ने निर्णय पनि भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत