अर्थतन्त्र

प्राइम बैंककाे लाभांश पारित, स्वतन्त्र सञ्चालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प्रतिशतका दरले नगद लाभाँश दिने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँ कमाएको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीले पाउनेछन् ।

बैंककाे स्वतन्त्र सञ्चालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त

बैंकको स्वतन्त्र संचालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ४५५ औं बैठकले चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

व्यवस्थापन विषय अन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी चित्रकार पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरिरहेकी छिन्  ।

उनी नेपाल विद्याभूषण ‘क’ बाट पनि विभूषित भइसकेकी छिन् । उनका विभिन्न शोधमूलक लेख रचना प्रकाशित छन् भने सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत